जनकपुरधाम-मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ ।
कांग्रेस संसदीय दलको आज बस्ने बैठकले समर्थन फिर्ता लिने बारे आधिकारिक निर्णय गर्दैछ ।
मुख्यमन्त्री सतिश कुमार सिंहले सहमति अनुसार मन्त्रालय नदिएको कांग्रेसको गुनासो छ । कांग्रेसका सांसद कुमारकान्त झाले अर्थ मन्त्रालयसहित चार मन्त्रालय र दुई राज्यमन्त्री दिने सहमति भए पनि मुख्यमन्त्री सिंहले सहमति पालना नगरेको हुँदा उनलाई दिएको समर्थन फिर्ता लिन लागिएको हो । उनले भने, ‘संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिन्छ ।’
कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको पद धरापमा पर्नेछ ।
सिंह सरकारलाई अहिले कांग्रेस, नेपाल एमाले, लोसपा र जनमतको समर्थन रहेको छ । कांग्रेसले जनार्दनसिंह क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ । तर, मन्त्रालय बाँडफाँटमा सहमति नभएपछि अहिलेसम्म सपथ ग्रहण हुन सकेको छैन । अब कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य गर्नेछ ।
त्यस्तै दुई मन्त्रालयको दाबी गर्दै आएको लोसपा पनि सरकारसँग असन्तुष्ट देखिएको छ ।
१ सय ७ सदस्यीय मधेस प्रदेशमा २३ सिटसहित एमाले पहिलो दल छ भने कांग्रेसको २२ सिट छ । मधेसमा जनतमतका १३ सांसद छन् । सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ ।
प्रतिक्रिया