मधेशका मुख्यमन्त्रीको टिप्पणी : आतंकवाद विरुद्धको लडाइँमा भारतको साथमा छौं

मधेशका मुख्यमन्त्रीको टिप्पणी : आतंकवाद विरुद्धको लडाइँमा भारतको साथमा छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले आतंकवाद विरुद्धको लडाइँमा मधेश प्रदेश भारतको साथमा रहेको धारणा व्यक्त गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री सिंहले आतंकवाद विरुद्धको लडाइँ कुनै एक देशको मात्र नभई सबैको साझा लडाइँ भएको बताएका छन् । उनले आतंककारीहरूलाई मौन साथ दिनुभन्दा खुलेर प्रतिकार गर्नुपर्ने बताएका छन् ।

मधेश प्रदेश र प्रदेशका जनता सदैव भारतको साथमा रहेको उनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा १ नेपालीसहित २६ निर्दोष जनताको ज्यान गयो । ती व्यक्तिहरू केवल नाम र आँकडा होइन, उनीहरू कसैको बाबु थिए, कसैको आमा, छोरी, दाइ, साथी थिए । ती ज्यानहरूसँगै धेरै सपना पनि मरे ।’

उनले थप लेखेका छन्, ‘आज भारतले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न साहसी निर्णयहरू लिँदै आएको छ । जब कुनै राष्ट्र बारम्बार आतंकको निशानामा पर्छ, तब प्रतिकार गर्नु अधिकार मात्र होइन, दायित्व पनि हुन जान्छ । भारतको यी प्रयासहरूलाई हामीले समर्थन गर्नुपर्छ, किनभने आतंक विरुद्धको लडाइँ कुनै एक देशको मात्र होइन, हामी सबैको साझा लडाइँ हो ।’

मधेश प्रदेशका जनताले सधैं मानवता, शान्ति र न्यायको पक्षमा उभिने परम्परा बोकेको भन्दै मधेशले विगतमा अनेकौं पीडा र संघर्ष भोगेको पनि उनले बताए ।