प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेशसभा बैठक स्थगित

प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेशसभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – लामो समयपछि बुधबार बसेको मधेश प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको छ ।

बुधबारदेखि सुरु हुने भनिएको पाँचौं अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षले उभिएर विरोध जनाएपछि भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ ।

जसपा नेपालका सांसद रामअशिस यादवले १ महिना २४ दिनअघि सभामुखले नै छानबिन समिति बनाउने निर्णय गरेको स्मरण गराउँदै अहिलेसम्म सभामुखको निर्देशन कार्यान्वयन नभएको भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए । उनले अहिलेको जनमत नेतृत्वको सरकारले मधेश प्रदेशमा आर्थिक अनुशासनको खुलेआम उल्लंघन गरेको आरोप लगाएका छन् ।

संघीय छानबिन समिति गठन गर्ने निर्णय १ महिना बढी भइसक्दा पनि गठन नभएकाले सांसद यादवले सरकार सदनप्रति उत्तरदायी नरहेको आरोप लगाएका छन् । उनले संसद्ले पनि मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचारलाई समर्थन गरेको आरोप लगाउँदै संसदीय छानबिन समिति गठन नगरेसम्म सदन अवरुद्ध गर्ने बताए ।

त्यसपछि सभामुख रामचन्द्र मण्डलले बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जनाएका थिए ।

बुधबारको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पाँचौं अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको थियो । प्रदेश प्रमुखको कार्यालयबाट विधेयक प्रमाणीकरण पत्र र मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूचीमा उल्लेख रहेको थियो । दलका नेता/प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिने पनि कार्यसूचीमा रहेको थियो ।