मधेशको मन्त्रिपरिषद् विस्तार, एमालेबाट ३ मन्त्री नियुक्त

मधेशको मन्त्रिपरिषद् विस्तार, एमालेबाट ३ मन्त्री नियुक्त


जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप ३ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरू सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् ।

लेखीले गृह, सञ्चार तथा कानून, सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रूपमा शपथ लिएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा केशव रायले शपथ लिएका छन् ।

यसअघि नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार मन्त्री छन् ।

शनिबार मन्त्रिपरिषद् विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन् ।

तत्कालीन नेपाली कांग्रेस, माओवादी, जसपा गठबन्धन भत्किएर नेकपा एमाले सहितको गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका थिए । मधेश सरकारबाट जनमत पार्टीका २ जना बाहिरिएपछि कूल ५ मन्त्रालय खाली भएका थिए । खाली भएकामध्ये ४ मन्त्रालय एमालेले पाएको छ भने एउटा माओवादी केन्द्रलाई दिने तयारी छ ।