मध्य भोटेकोशी जलविद्युतकाे आइपीओ बिक्री बुधबारदेखि खुल्ने


काठमाडौं– मध्य भोटेकोशी जलविद्युत कम्पनीले बुधबार (कात्तिक २८ गते) देखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीलाई १ करोड ४४ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो।

यो आइपीओमा सञ्चयकर्ताहरुले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यसैगरी, संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीले भने मंसिर १८ देखि २६ गतेसम्म आवेदन दिन पाउने छन्। यसमा न्यूनतम ५० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

यता, सञ्चय कोषका कर्मचारीले भने न्यूनतम ५० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम १२ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । सेयर भर्न सी–आस्वा अनिवार्य गरिएको छ । सी–आस्वा सेवा दिने सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर भर्न सकिन्छ ।

सेयर भर्दा आफ्नो कर्मचारी परिचयपत्र तथा सञ्चयकर्ताले सञ्चयकर्ता परिचयपत्र पेश गर्नुपर्नेछ । आवेदकको सीआरएन र डिम्याट खाता अनिवार्य हुनुपर्नेछ । सञ्चयकर्ताको हकमा २०६८ मंसिर २२ मा कायम रहेका र सो पश्चात २०७५ असोज २९ भित्र कायम रहेका सञ्चयकर्ताले आवेदन दिन पाउनेछन् ।

यस आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक तथा सिभिल क्यापिटल, एनआइबीएल एस क्यापिटल, सीबीआइएल क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल र लक्ष्मी क्यापिटलले सह–बिक्री प्रबन्धकको रुपमा काम गर्नेछन् । १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लामा रहेको छ।

कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड र जारी पुँजी ६ अर्ब रहेको छ । संस्थापक सेयरधनीले ३ अर्ब ६ करोड रुपैयाँ चुक्ता गरिसकेका छन्। कम्पनीले यसपछि दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि आइपीओ खुला गर्नेछ।

स्थानीय बासिन्दाले जारी पुँजीको १० प्रतिशत अर्थात ६० करोड रुपैयाँको सेयर खुला हुनेछ। त्यसपछि मात्र तेस्रो चरणमा सर्वसाधारण तथा मध्य भोटेकोशीकै कर्मचारीका लागि जारी पुँजीको १५ प्रतिशतका दरले ९० करोड रुपैयाँको आइपीओ खुला गरिनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement