ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय आफ्नो कार्यक्षेत्रभित्र हुनुपर्ने कृषि समितिको माग


काठमाण्डु- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आफ्नो कार्यक्षेत्रभित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय रहने व्यवस्थाका लागि सभामुखसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

समितिको आजको बैठकले सिँचाइ बिना कृषि क्षेत्रको समग्र सुधार कार्य चुनौती खडा हुने भएकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई समितिको कार्यक्षेत्रभित्र रहने व्यवस्थाका लागि सभामुखसँग आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संस्थागत विकास र जिम्मेवारीलगायत विषयबारे आगामी बैठकमा जानकारी लिने पनि निर्णय गरेको छ ।

बैठकले यसअघि छलफल गरी सरकारलाई दिएको निर्देशन कार्यान्वयनको अवस्थाबारे लिखितरुपमा सात दिनभित्र उपलब्ध गराउन सरकारवाला मन्त्रालयलाई पत्रचार गर्ने निर्णय गरेको छ ।

समितिले मुलुकमा गाँजाखेतीको सम्भावना र सम्भव, बहुउपयोगिता, उत्पादन, प्रशोधन, वितरणलाई कानुनी मान्यता प्रदान गर्ने सन्दर्भमा सरोकारवाला निकायसँग आगामी दिनमा गहन र विस्तृत छलफल गर्ने निर्णय गरेको छ ।

बैठकले भूमिसम्बन्धी आयोगबाट सम्पादन हुने कार्यलाई व्यवस्थित गर्न मन्त्रालय र आयोगका पदाधिकारीलाई बोलाएर आगामी बैठकमा छलफल गर्ने निर्णय पनि गरेको छ । समितिमा कार्बन उत्सर्गसम्बन्धी भएको नीति र रहेका समयन्त्रबारे वन तथा वातावरण मन्त्रालयसँग माग निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement