गल्ती स्वीकार गर्दै भारतले माग्यो नेपालसँग ‘माफी’!


दार्चुला– नेपालको सहमति नलिएरै दार्चुलास्थित महाकाली नदीमा काठे पुल बनाएको भारतले गल्ती स्वीकार गरेको छ।

भारतको पिथौरागढ जिल्लामा नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको सीमा सुरक्षा बैठकमा अनुमतिबिना सीमा नदीमा पुल लगाउनु ठूलो गल्ती भएको स्वीकार गरेको हो।

अब महाकालीमा लगाइएका अस्थायी काठेपुल नेपाल सरकारले अनुमति दिएपछि मात्रै सञ्चालन हुनेछन्।

भारतीय पक्षले व्यास – २ को राप्ला क्षेत्रमा पर्ने दोपाखे, नजंग खोला, लखनपुर र बुदीको कौथलामा चार पुल निर्माण गरेको थियो। साथै नेपाली भूमिमा डेढ किमी सडक र झण्डै दुई किमी गोरेटो बाटोसमेत निर्माण गरिएको छ।

अबदेखि दुवैतर्फ केन्द्र सरकारको अनुमति लिएर मात्रै काठे पुलबाट आवागमन सञ्चालन गर्ने बैठकले निष्कर्ष निकालेको छ।

बैठकमा नेपालको बांगबगर पारि भारतको खोतिलाबाट खसेको पहिरो व्यवस्थापनका विषयमा समेत दुई देशका प्राविधिकको टोलीले अध्ययन गर्ने सहमति भएको नेपालका तर्फबाट बैठकमा सहभागी प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement