महाकाली करिडोरको ट्र्याक खोल्न ९३ करोड बजेट स्वीकृत


काठमाण्डु – सरकारले महाकाली करिडोरको ट्र्याक खोल्न ९३ करोड बजेट स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले महाकाली कोरिडोर निर्माणका लागि चालु आर्थिक वर्षका लागि उक्त बजेट स्वीकृत गरेको हो ।

कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्टले  दोधाराचाँदनीमा सुख्खा बन्दरगाह सञ्चालन हुने भएपछि कोरिडोरलाई गड्डाचौकीसम्म पुर्याइने जानकारी दिए ।

यसअघि कञ्चनपुरको ब्रह्मदेव देखि दार्चुलाको तिंकरसम्म जम्मा ४ सय २५ किलोमिटर लम्बाईमा वातावरणीय प्रभाव मूल्यांकन गरिएको थियो । यो करिडोरमा कञ्चनपुरको गड्डाचौकी देखि ब्रह्मदेवसम्मको केही भूभाग थप गर्ने तयारीसमेत छ ।

उक्त करिडोर सञ्चालनमा आएपछि भारत र चीनसँग व्यापार व्यवसायमा थप सहजता हुनेछ । त्यस्तै कैलाश मानसरोवर जाने बाटो छोटो हुने डा. भट्टको भनाई छ ।

तीन वर्षअघि कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला गरी चार जिल्लामा ट्र्याक खोल्न ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । हालसम्म डडेल्धुरामा ११ किलोमिटर, बैतडीमा ५७ किलोमिटर र दार्चुलामा ६७ किलोमिटर कोरिडोरको ट्र्याक निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement