महामारीमा स्वास्थ्यमन्त्रीको अग्निपरिक्षा !


काठमाडाैं – जीवनका सारा रौनक हराएको यो महामारीको समयमा माननीय स्वास्थ्यमन्त्री भानुभक्त ढकालज्यूलाई नैतिकताको बन्धन नतोडी सच्चा काममा लाग्न अनुरोध गर्दै शुरुमा केही प्रश्नहरु सोध्न चाहन्छु ।

पहिलो प्रश्न-यो संकटको घडीमा स्वास्थ्यमन्त्रीको पदमा बसेर केहि पदीय दायित्व पूरा गरेजस्तो लाग्छ की नाई मन्त्रीज्यू ?

दोश्रो प्रश्न-सामान्य नागरिकले औषधी उपचारमा कैयौं निजि अस्पतालहरु चाहार्दा कुनै गुहार नपाएपछि अनाहकमा खुला चउरमा छट्पट्टाउदै मर्नुपर्दा तपाईको मन दुख्यो की नाई मन्त्रीज्यू ?

तेश्रो प्रश्न-महामारीमा परिक्षणको दायरालाई व्यापक तिब्रता दिनुपर्नेमा अरु देशले लाखौको परिक्षण भ्याउदा हामी उहि सयौको सुस्त गतिमा रहनुपर्दा तपाईको दिमागमा खिन्नताबोधले कत्तिको घोच्छ मन्त्रीज्यू ?

चौथो प्रश्न- कोरोना महामारीले प्रत्येक नेपालीको मनमा चरम पिडा दिईरहेको वेला ओम्नी समूहले स्वास्थ्य सामाग्रीको खरिद प्रकरणमा तपाईको मन्त्रालयलाई ठाँउको–ठाँउ गुम्राहामा हाल्दा लज्जाबोधले तपाईको शिर झुक्यो कि झुकेन मन्त्रीज्यू ?

अन्धकारले बेरीएको यो संकटमा दुनियाँभर दुःखका सुस्केराहरु सुन्नै नसकिने भएका छन् । आज कैयन देशहरुले लाशहरु ओसार्न र खाल्डो खनेर पुरिरहन भ्याएका छैनन् । मर्नेका परिवारलाई भेटेर पिडामा समवेदना दिन सक्ने स्थिति छैन । चौतर्फी मानवको पिडा र वेदनाको दुखाई गहिराइमा पुगेको छ । यस्तो विपतमा जनताको पिर मर्कालाई हाम्रो सरकारले प्राथमिकतामा पटक्कै पारेको छैन ।

सरकार बैरो भएको छ, आफू बाहेक अरुको कुरै सुन्दैन । जोखिमले भरिएकोे यो संवेदनशिल समयमा नचाहिदा निर्णयहरु गरेर सरकार आफै अलमलमा परिरहेको छ । सरकारको यो डम्फु ठोकाइको ताल देख्दा दृष्टि पटक्कै नपुगेको भान हुन्छ । केही नाटकीय राहातका कामले जनतालाई कत्ति पनि चित्त बुझेको छैन । सरकार प्रति जनताका आक्रोशहरु व्यापक उर्लिएका छन् । सरकारले घाटीसम्म आउने गरि जनताको गाली र निन्दा खेपिरहनु परेको छ । यता बालुवाटारले जे–जे बिषयमा सर्वाधिक महत्वले निर्णय गर्छ त्यसैमा फस्दै जान्छ । अनि सरकारले आफूलाई चोख्याउन यी फजुल निर्णय उल्ट्याउछ ।

खारेजी गर्छ । अनि फेरी झन–झन बवन्डर मच्चिन्छ । रोगव्याधीले चापेको वेला सरकारको बदनाम मात्र भएको छ । यो छट्पटाहट्मा बालुवाटार बैठकले कुनै ठोस निकास दिन सकेको छैन । संकटमा सरकारको तागत छर्लङ्ग देखिएको छ । हाल प्रत्येक मानव जीवन कोरोना भाइरसको परिबन्दमा छ । हाम्रो देशको स्वास्थ्य संरचना साह्रै नाजुक छ । स्वास्थ्य प्रणाली दयनीय स्थितिमा छ । निजी अस्पतालको ताल उस्तै नै छ । विदेशबाट अति आवश्यकिय स्वास्थ्य सामग्री ल्याउन महिना दिन कुर्नुुपर्छ । जताततै लथालिङ्ग अवस्था छ । भद्रगोल स्थिती छ ।

यो छरपष्ट प्रवृत्तिले चाङ् चुलिदा जनताको मन भत्भती पोलेकोे छ । आखिर जे भएपनि हाललाई नेपाली जनताले सहनु बाहेक अरु बिकल्प नै छैन । दुःखका समयसँगै उपायहरु पनि पक्कै आउलान् भन्दै धैर्य गरि बस्नु वाहेक अरु उपाय छैन । महिनौ देखि सारा दुनियाँमा महामारीले आतंक मच्चाउदै दुःख दिईरहदा पछिल्लो समय नेपालमा यो संक्रमणले बिशाल रुप लिदै फैलिईरहेको छ । यो संक्रमणको बढ्दो स्थिति हेर्दा नेपालमा पनि खतराको घण्टी बजेको भान हुन्छ । यस्तो स्थितिमा नेपालको स्वास्थ्य क्षेत्रमा जिम्मेवारीको भार बहन गरेका स्वास्थ्यमन्त्रीको काम झारा टार्ने वाहेक अरु छैन ।

जिम्मेवार मन्त्रीले जनताको जीवनरक्षामा खेलेको भूमिका शुन्य छ । शुरुका दिन देखिनै हालका स्वास्थ्यमन्त्री माथि व्यापक प्रश्न उठिरहेका छन् । उहाँको कार्यशैली हेर्दा प्रश्न उठ्नु स्वभाविक पनि हो । उहाँकोे राजनिति आफ्नो ठाउँमा होला । उहाँमा कुनै खरावी नहोला । कृपाका साथ दिनेवालाले टिका लगाई उपहारमा स्वास्थ्यमन्त्रीको पद थमाईदिएपछि उहाँको के दोष । आखिर बल्लतल्ल पाएको यो ओहोदाको पद सकेपनि नसकेपनि समाहाल्नै प¥यो । तर यस्तो घातक महामारीमा स्वास्थ्यमन्त्रीले आफ्नो पदीय जिम्मेवारी बिर्सेर नक्कली अन्धोको नाटक गर्न पटक्कै मिल्दैन ।

अत्तालिएका जनताहरुको थोरै भएपनि चित्कार सुन्नुपर्छ । फूल सदावाहार फुलिरहदैन भनेझै एउटै व्यक्तिको लागि सधैभरी काम गर्ने मौका मिलिरहदैन । यो कुरा स्वास्थ्यमन्त्रीज्यूले बुझ्नुपर्छ । मन्त्रीज्यू, तपाईको जिवनमा भाग्यले जुराएको यो काम गर्ने अवसरलाई त्यसै खेर जान दिनु हुदैन । यही मौकालाई सही सदुपयोग गर्दै सच्चा कर्मले गुनको रास थोपरेर जनतालाई ऋिणी बनाउनु पर्छ । सरगम एक असल मन्त्रीले निभाउने पूरा कर्तव्य तपाईले निभाउनुपर्छ । जिन्दगीमा साच्चिकै गरेर देखाउने हिम्मत कमैले गर्छन् । अझै झन् देशको सारा शक्ति स्वस्थ्य क्षेत्रमा होमिएको यो बेला तपाईको लागि दिर्घकालिन रुपले सरकारी अस्पताललाई सुधार गर्ने, प्रयोगशालालाई सुदृढ गर्ने उचित मौका यहि हो ।

नेपाल भित्रै औषधी बनाउने तथा स्वास्थ्य सेवालाई सुलभ बनाउने उत्तम मौका पनि यहि हो । देशै भरि स्वास्थ्य क्षेत्रको पूर्वाधारमा आमूल सुधार ल्याउने सहि समय पनि यहि हो । मन्त्रीज्यूू, तपाइले आफ्नो चेतनाको ज्योतीलाई एकपटक राम्रो सँग उघार्नुपर्छ । अहिले सारा नेपाली जनताको ध्यान स्वास्थ्यमन्त्रीको काम र व्यवहार माथि तानिएको छ । जनताले तपाईको एक–एक कामको निरिक्षण गरिरहेका छन् । महामारीले निम्त्याएको यो लकडाउनको समयमा तपाई आनन्दित र निश्चिन्त भएर नबस्नुहोस । देशको समग्र स्वास्थ्य क्षेत्रमा एकछत्र कब्जा जमाएर काममा होमिनुमै तपाईको धर्म पूरा भएको मानिन्छ । तपाईले उच्च ओहोदाको यस मन्त्रीको पदावदीलाई अर्थहीन तवरले लम्बाउने काम मात्र नगरि साच्चिकै केही गरेर जीवन्त बनाउने प्रयास गर्नुपर्छ । पछिल्लो समय मिडियामा आएका कुराहरु र बालुवाटार भित्र भएका कानेखुसिले तपाईलाई पद खुस्किने डरले पिरोलेर औडाँहा बनाएको होला ।

आज सम्म बनाएको सारा छविमा कालो पोतियो भनेर निराश बन्नुभएको होला । खुईलिए भनेर दुखी बन्नुभएको होला । तर त्यस्तो होईन मन्त्रीज्यू, दुनियाँमा साच्चिकै महान मान्छे यस्तै बिन्दुबाट उठेका धेरै उदाहरणहरु छन् । त्यसैले अव उठ्नुहोस् । छोडिदिनुहोस् त्यतातिर, ती वेकार कुराको लागि कानमा कपास कोचिदिनुहोस् । फर्किनुहोस् आफ्नो काम तिर । यो महामारीलाई तपाईले नै निमिट्यान्न पार्न सक्नुहुन्छ । समय अझै घर्किसकेको छैन । कोरोनाको खेल सकिएको छैन । कहिले सकिन्छ त्यो पनि थाहा छैन । मन, बचन र कर्मले काम गरे केहिपनि असम्भव छैन । कोरोनाको श्रीङ्खला चलिरहेको यो समयमा तपाईको लागि प्रभावकारी भूमिका निभाउने प्रशस्त ठाँउ अझै छन् । यसले तपाईको व्यत्तिगत जीवनमा झन् ठूलो हित छ । साच्चिकै जनताले तपाईकोे नाडी छाम्दैछन् । अहिले जनता तपाईलाई खेल मैदानमा पठाएर तपाईको वास्तविक क्षमता जाच्दैछन् ।

तपाईको खेल देखाउने समय यही हो । आउनुहोस मज्जाले उत्साहका साथ खेल खेल्नुहोस्, अनि जित्नुहोस् पनि । पहिले जितेको थिए यसपटक हारे भन्दै नभन्नुुहोस् । कसरी हुन्छ जितेरै छाड्नुहोस् । कहिलेकाहि खेलमा पराजयले पनि अद्भुत शिक्षा देला । तर, तपाईको अहिलेको खेलमा जसरी पनि बिजय गर्नैपर्ने हुन्छ । यो पनि सम्झिनुहोस्, तपाईलाई परास्त पार्न तपाईकै निकट व्यक्ति लाग्नेछन् । संसारमा राम्रा मात्र हैनन् नराम्रा मान्छे पनि त्यत्तिकै छन् । तिनिहरुको नराम्रो उद्देश्यलाई सजिलै बिफल पारिदिनुहोस् । अब्राहम् लिङ्कनले भनेझै साच्चिकै जनता प्रति समर्पित र निष्ठावान भएर लाग्नुहोस् । कुनै स्वार्थमा लिप्त नहुनुहोस् । यो अफ्ठ्यारोमा दिन–रात, भोक–प्यास केही नभनी आफ्नो नित्य कर्ममा लागेको लागै गर्नुहोस् ।

आत्मबल दह्रो पार्नुहोस् । पूरा भित्री शक्तिले काम गर्नुहोस् । काममा अलमल पटक्कै नगर्नुहोस् । सच्चा कर्ममा आफ्नो अडानलाई दोहो¥याई रहनुहोस् । बोली र व्यवहारमा कट्टिबद्घ हुनुहोस् । यसो गरेमा एक दिन तपाईको समय छिट्टै उल्टिने छ । तपाईको माथितिरको वास्तविक यात्रा बल्ल शुरु हुनेछ । देशमा तपाईको महत्व बढ्दै जानेछ । तपाई सबैको प्रेरणाको व्यक्ति बन्नुहुनेछ । साच्चिकै एक दिन बडो अजिवको मुल्यवान व्यक्तित्व बन्नुुहुनेछ । भविश्यमा तपाई उत्कृष्ट गर्व गर्न लायक व्यक्तित्व बन्नुहुनेछ । हिजो सम्म खराव भन्दै गरेका मान्छेहरु अब अवश्य तपाई तर्फ फर्किनेछन् । सबथोक पाएर दुःखी हुनुभन्दा सब थोक गुमाएर खुसी हुनुमा जित छ मन्त्रीज्यू । आउनुहोस् अहिलैबाट लाग्नुहोस् ।

लेखक : कृष्ण सापकोटा,फलेवास, पर्वत (हाल : धापासी,काठमाडौं)

प्रतिक्रिया दिनुहोस
Advertisement