काठमाण्डु- देशका ६ वटै महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट ल्याएको छ ।
बुधबार काठमाण्डु ललितपुर, पोखरा, भरतपुर, वीरगन्ज र विराटनगर महानगरपालिकाले करिब ५४ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याएका छन्।
चालु आर्थिक वर्षमा यी महानगरको कुल बजेट करिब ५३ अर्ब ७ करोड थियो भने ६ महानगरको बजेट करिब ९६ करोडले बढेको छ।
सबै महानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखेका छन् ।
सुशासन, मितव्ययिता, बहुवर्षीय आयोजना सम्पन्न गर्ने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने पनि सबै महानगरहरूले लक्ष्य लिएका छन् । अधिकांश महानगरले पूर्वाधार, सुशासन, सेवा प्रवाह र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेका छन्।
आकारको हिसाबले काठमाण्डु महानगरपालिका बजेट सबैभन्दा ठूलो छ। काठमाण्डुले २५ अर्ब ८८ करोड ३० लाख रुपैयाँको बजेट ल्याएको छ, जुन अन्य पाँच महानगरपालिकाको संयुक्त बजेट बराबरको हाराहारीमा छ।
सहरी व्यवस्थापनमा काठमाण्डुको जोड
चालु वर्षमा काठमाण्डुको बजेट २५ अर्ब ११ करोड थियो। यसपटक करिब ७७ करोड रुपैयाँले बजेट बढेको छ।
काठमाण्डुले कुल बजेटको ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड रुपैयाँ पूर्वाधार विकास क्षेत्रमा विनियोजन गरेको छ। यस्तै सामाजिक विकासमा दुई अर्ब ४२ करोड, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा दुई अर्ब १३ करोड तथा प्रशासनिक खर्चमा चार अर्ब ७१ करोड रुपैयाँ छुट्याइएको छ। काठमाण्डुले सडक, ढल, सार्वजनिक संरचना तथा सहरी व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।
ललितपुरले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने
यस्तै ललितपुर महानगरपालिकाले ७ अर्ब ४८ करोड ८७ लाखको बजेट ल्याएको छ। चालु वर्षमा ललितपुरको बजेट ७ अर्ब ४७ करोड ४१ लाख थियो। बजेटमा सामान्य वृद्धि भए पनि पुँजीगत खर्च घटाइएको छ। कर्मचारी खर्च बढेकाले चालु खर्च बढेको महानगरले जनाएको छ।
सम्पत्ति कर समयमै तिर्नेलाई छुट, महिला, दलित तथा अपांगता भएका व्यक्तिद्वारा सञ्चालित व्यवसायलाई सहुलियत तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने व्यवस्था बजेटमा समेटिएको छ।
पर्यटन र पूर्वाधार पोखराको लक्ष्य
पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड २५ लाखको बजेट ल्याएको छ। चालु वर्षमा पोखराको बजेट ८ अर्ब ३५ करोड १२ लाखको थियो। पोखराले यसपटक करिब १ अर्ब २० करोडले बजेट घटाएको छ।
पोखराले पनि पर्यटन, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ। ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माणलाई मुख्य लक्ष्य बनाएको पोखराले पर्यटन, पूर्वाधार विकास तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएको छ। महानगरले आन्तरिक आय वृद्धि र पर्यटन क्षेत्रको पुनरुत्थानलाई पनि विशेष महत्त्व दिएको छ।
गौतमबुद्ध क्रिकेट रंगशाला भरतपुरको प्राथमिकता
भरतपुर महानगरपालिकाले पाँच अर्ब ५१ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको छ। महानगरले सडक मर्मत, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, शिक्षा, खानेपानी तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।
विद्यालयको गुणस्तर सुधार, बाल विकास कार्यक्रम, खानेपानी महसुलमा सहुलियत तथा वडास्तरीय योजनाका लागि भरतपरले बजेट छुट्याइएको छ। महानगरले अधुरा योजनालाई सम्पन्न गर्न पनि विशेष प्राथमिकता दिएको छ।
वातावरण संरक्षणमा वीरगञ्जको जोड
वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार बढाउँदै ४ अर्ब ४२ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
वीरगञ्जले शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, पर्यटन, उद्योग तथा प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ। महानगरले वातावरण संरक्षण तथा आधुनिक सेवा प्रणाली विकासमा समेत जोड दिएको छ।
पूर्वाधार विकासमा विराटनगर
यस्तै विराटनगर महानगरपालिकाले ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु वर्षमा यसको बजेट ३ अर्ब ६८ करोड २८ लाख थियो। बजेट करिब १२ करोडले घटेको छ। पूर्वाधार विकास क्षेत्रमा सबैभन्दा बढी रकम विनियोजन गरिएको छ। चालु वर्षमा भने महानगरले ४४.७६ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ।
विराटनगरले पूर्वाधार विकासमा सबैभन्दा बढी एक अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । सामाजिक विकास, आर्थिक विकास, सुशासन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलाई बजेटले प्राथमिकतामा राखेको छ।




प्रतिक्रिया