अदालतबाट महरालाई न्याय : सामाजिक र राजनीतिक क्षतिपूर्ति कसले दिने ?


काठमाडौं – दशैंको चहलपहल सुरू भइसकेका बेला गत असोज १३ गते तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि संगीन आरोप लाग्यो । संसदीय सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप झण्डै ५ महिनापछि गलत साबित भएको छ ।

जिल्ला अदालत काठमाडौंले महरामाथि लागेको ‘जबरजस्ती करणी उद्योग’ मुद्दाको फैसला सुनाउँदै सोमबार महरालाई निर्दाेष ठहर गरेको छ । नेपाल सरकार वादी मुद्दामा सरकारी दाबी हारेको छ भने महराले जितेका छन् ।

न्यायिक र कानुनी रुपमा प्रक्रियामा महराले जितेका छन् तर विगत ५ महिनामा भएका अनेक ‘षड्यन्त्र’ले महराको सामाजिक र राजनीतिक प्रतिष्ठामा क्षति पुगेको छ । महराले सामाजिक र राजनीतिक क्षतिपूर्ति कसरी पाउने ?

असोज १२ गते तत्कालीन सभामुख कृष्णबहादुर महरा महिला कर्मचारी रोशनी शाहीको डेरामा गएको र जबरजस्ती करणी प्रयास गरेको आरोप सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरङ्ग उत्पन्न भयो । ‘सम्माननीय’ दर्जामा रहेका महरामाथि यौन दुर्व्यवहारको आरोप लाग्नु आश्चर्यजनक थियो । तर उनी पनि छानबिनको दायरामा आए ।

सामाजिक छविमा ‘दाग’

कानुनी प्रक्रिया अनुसार छानबिनको दायरामा आउनु ठीकै हो । तर छानबिनका क्रममा कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकतर्फी फैसला सुनाउने काम भयो । पीडित भनिएकी महिला रोशनीले ‘इन्कारी’ बयान दिएपछि पनि महरामाथि लगातार प्रहार भइरह्यो । राजनीतिक ‘इगो’ र पार्टीगत आलोचनाको शिकार महरा भइरहे ।

सुरूमा लागेको आरोप व्यापक प्रचार र स्थापित भयो । पछि रोशनीले गरेको सुधारलाई कसैले पत्याएनन् । जसले गर्दा महराको सामाजिक छविमा दाग लाग्यो । सही अनुमान, पूर्वाग्रही विश्लेषण र सामाजिक सञ्जालको शिकार भएपनि महराले अन्ततः अदालतबाटै न्याय पाएका छन् ।

राजनीतिक उचाइमा ‘धक्का’

तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आउँदा चर्चित बनेको नाम हो कृष्णबहादुर महरा । शिक्षक पेशा छाडेर देशमा आमूल परिवर्तनका लागि जनयुद्धमा होमिएका महराले राष्ट्रिय राजनीतिमा उचाइ चुमिरहेका थिए । विधायक, सभासद्, मन्त्री, उपप्रधानमन्त्री हुँदै महरा ‘सम्माननीय’ पदमा समेत आसिन भइसक्दा उनीमाथि एकाएक अनपेक्षित आरोप लाग्यो । जसले गर्दा उनले सभामुख पद गुमाउनुपरेको छ भने राजनीतिक छवि धक्का लागेको छ ।

तत्कालीन माओवादी केन्द्रमा उनी महासचिवसम्म भए । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र भएका कारण नै उनी सभामुख पदमा आसिन हुन सफल भएका थिए । उनले पार्टी र आन्दोलनमा अनवरत सक्रियता जनाएका थिए । तर कानुनी रुपमा पुष्टि हुन नसकेको यौन दुर्व्यवहारको आरोपले उनलाई नराम्ररी प्रभावित पारेको छ ।

कसरी होला राजनीतिमा पुनरागमन ?

जीवनका ऊर्जावान दशकहरू पूर्णकालीन राजनीतिमा बिताएका महराले अदालतबाट सफाइ पाएपछि अब अन्य कुनै विकल्प देखिँदैन । उनले राजनीतिमा पुरागमन गर्न राजनीतिक नेतृत्वले सघाउनुपर्ने देखिन्छ । कतिपयले महरालाई फसाउने षड्यन्त्रमा राजनीतिक नेतृत्व नै लागेको अड्कलबाजी गरिरहेका बेला उनको पुरागमन समेत अन्योलपूर्ण देखिन्छ ।

तत्कालीन माओवादी केन्द्रमा महरा पदाधिकारीको जिम्मेवारीमा थिए । तर हाल पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा महराको कुनै पदीय हैसियत छैन । सभामुख पदमा निर्वा्चित भएपछि महराले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

महरा नेकपाको माथिल्लो निकाय सचिवालयमा रहेका नेताहरूका समकक्षी हुन् । उनी सभामुख नभएर सक्रिय राजनीतिमै रहेका भए सायद सचिवालय सदस्यको हैसियतमा हुन्थे होला । उनी सभामुख भएपछि विगत पाँच महिनामा भएको षड्यन्त्र गलत साबित भइसकेपछि अब उनलाई पार्टी नेतृत्वले कसरी ग्रहण गर्छ भन्ने कुरा प्रतिक्षाको विषय बनेको छ ।

नेकपाभित्र पूर्व माओवादी समूह महराप्रति उदार छ । महरालाई फसाउने षड्यन्त्र भएको भनेर पटक–पटक पार्टी्भित्र र सामाजिक सञ्जालमा बहस हुने गरेपनि त्यसले प्रभावकारी रुप लिन सकेन । सायद अदालतमा विचाराधीन मुद्दा भएकाले पनि त्यसतर्फ नेतृत्वले ध्यान दिएन । निर्दाेष साबित भएपछि राजनीतिक नेतृत्वले महराको विषयमा पक्कै सोच्नुपर्ने अवस्था आउने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement