सभामुख र राष्ट्रियसभा अध्यक्षले संविधान विपरित काम गरेपछि …


काठमाडौं – प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले संविधानविपरीत बोलाएको दुवै सदनको संयुक्त बैठकको निर्णयलाई सरकारले सच्याइदिएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठकको आह्वानका लागि राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरी सभामुख र अध्यक्षले संविधानविपरीत गरेको त्रुटि सच्याइदिएको हो।

सरकारका प्रवक्ता एव सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले संघीय संसदन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बोलाउने निर्णय सरकारले गरेको जानकारी दिए। ‘संघीय संसद्को संयुक्त बैठक असार ३ गते अपराह्न ४ बजे आह्वान गर्न सम्मानीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरियो’, मन्त्री बास्कोटाले भने । अब राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेपछि मात्रै संघीय संसदको संयुक्त बैठक बस्नेछ । सो बैठकले संयुक्त कार्यसञ्चालन नियमावली पारित गर्ने छ।

यसअघि जेठ २७ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सूचना जारी गरेर तथा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो दिनको बैठकको अन्त्यमा जेठ २८ गते संयुक्त बैठक बस्ने जानकारी गराएका थिए। संयुक्त कार्य सञ्चालन नियमावली पारित गर्न बोलाइएको उक्त बैठकको संवैधानिक हैसियतमा प्रश्न उठेपछि सभामुख र अध्यक्ष दुवैले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका थिए।

‘मिति २०७५ जेठ २८ गते सोमबार दिनको १ बजे बस्ने गरी सूचना गरिएको संघीय संसद्को दुवै सदनको संयुक्त वैठक विशेष कारण बस्न नसक्ने भएकाले सम्मानीय सभामुख र सम्मानीय अध्यक्षको निर्देशानुसार उक्तः बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बेहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ। आजको नागरीक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement