अधिकार सदुपयोग गर्न स्थानीय तहलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीको सुझाव


काठमाण्डौ– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तहमा अधिकार हस्तान्तरण भइसकेकाले त्यसको सदुपयोग गरेर विकास निर्माणमा लाग्न निर्वाचित स्थानीय जनप्रतिनिधिलाई सुझाव दिनुभएको छ ।

आधुनिक नेपाल मण्डल पर्यटन नगरी विकास बोर्डले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानले स्थानीय तहलाई  अधिकार दिएको र जनताले निर्वाचित समेत गरेकाले अधिकार प्रयोग गर्न सुझा दिनुभएको हो ।

उहाँले भन्नुभयो, “संविधानको परिपालना गर्ने हो भने केन्द्रमा रक्षा, परराष्ट्र तथा मौद्रिक नीतिजस्ता अधिकार मात्र रहेको छ, अन्य अधिकार प्रदेश र स्थानीय तहमा गएकाले त्यसको कार्यान्वयन गर्नुपर्छ ।”

मुलुक राजनीतिक सङ्क्रमणको अन्तिम अवस्थामा रहेको भन्दै उहाँले प्रदेश र सङ्घको निर्वाचनपछि मुलुक आर्थिक समृद्धिको बाटोमा लाग्ने बताउनुभयो । मन्त्री महराले पर्यटनको क्षेत्रमा ध्यान दिन सकियो भने मुलुकलाई केही वर्षमै समृद्ध बनाउन सकिने भएकाले त्यसतर्फ ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पर्यटकीय रुपमा मुलुक भरिपूर्ण छ, यसबाट फाइदा लिन सक्नुपर्छ ।” मन्त्री महराले  उपत्यकाको समग्र विकासका लागि जनप्रतिनिधि सहकार्य र समन्वयमा शक्तिशाली निकाय बनाएर अगाडि बढ्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “उपत्यकाका पर्यटकीय स्थललाई व्यवस्थित गर्न जरुरी छ, योजनावद्धरुपमा कानुनी संरचना निर्माण गरेर अगाडि बढ्नुपर्छ, त्यस कार्यमा सरकारको समर्थन रहन्छ ।”

आफू अर्थमन्त्री हुँदा जारी भएको बजेटमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणको नीति लिइएको बताउँदै उहाँले उपत्यकाको समग्र विकासका लागि त्यसले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री महराले भन्नुभयो, “स्थानीय तहमा रु १२ करोडदेखि  पौने दुई अर्बसम्म बजेट निकासा भएको छ, त्यसको केही रकम कर्मचारी व्यवस्थापनमा खर्च भएपनि धेरै रकम विकास निर्माणका लागि हो ।”

कार्यक्रममा काठमाडौँ उपत्यकाको महानगर र नगर एवम् आसपासका गाउँपालिकाका प्रमुखको सहभागीता थियो । उपत्यका र आसपासका क्षेत्रमा रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रको  पहिचान र विकास गर्ने अभियान अगाडि बढाउन लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement