एमडीएच ग्रुपका मालिक धर्मपालको निधन, १५ सयबाट सुरु गरेको व्यापारले बनायो करोडपति


एजेन्सी – एमडीएच ग्रुपका मालिक महाशय धर्मपाल गुलाटीको निधन भएको छ । माता चन्दनदेवी अस्पतालमा उनको उपचारकै क्रममा निधन भएको हो ।

उनी केही दिनदेखि सोही अस्पतालमा उपचाररत थिए । उनको मृत्युमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समेत दुःख व्यक्त गरेका छन् ।

उनको निधनप्रति भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि दुःख व्यक्त गरेका छन् । उनले भारतका एक प्रतिष्ठित घरानियाका एक महासय धर्मपालजीको निधनले आफूलाई दुःखीत बनाएको बताएका छन् ।

‘सानो व्यवसायबाट सुरु गरेर अहिले आफ्नो पहिचान कायम गर्न सफल भएका थिए । उनी सामाजिक कार्यमा समेत अत्यन्त सक्रिय थिए । मैले उनको परिवारप्रति पनि समवेदन प्रकट गर्दछु’, उनले भनेका छन् ।

गृहमन्त्री अमित शाहले पनि सौम्य व्यक्तिको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन् । ‘सौम्य व्यक्तित्वका धनी महासय धर्मपालको संघर्ष र परिश्रमका एक प्रतीक थिए,’ उनले भनेका छन्, ‘आफ्नो मेहनतले सफलताको शिखरमा पुगेका थिए ।’ उनी सन् १९२३ मा अहिले पाकिस्तानमा रहेको सियालकोटमा जन्मिएका थिए । उनी पाँच कक्षामा अध्ययनकै क्रममा पढाई छाडिदिएका थिए ।

उनले आफ्ना बुबा आमालाई सहयोग गर्नका लागि व्यापार सुरु गरेका थिए । साबुन, कपडा, हार्डवेयर, चामललगायतका व्यापारमा उनी संलग्न थिए । भारत र पाकिस्तानबीच विभाजन हुने बेलामा उनी दिल्लीमा आएका थिए । त्यसबेला उनीसँग जम्मा १५ सय रुपैयाँ थियो । अहिले उनको कम्पनीले १५ सय करोड बराबरको कारोबार गरिरहेको बताइएको छ ।

उनले दिल्लीको करोलबागमा एक मसला पसल खोलेका थिए । मसलाको कारोबारले नै उनको पहिचान खुलाएको थियो । अहिले एमडीएच ब्रान्ड स्थापित ब्रान्ड बनेको छ । एमडीएच स्पाइस कम्पनी उनका बुबाको कारोबारमा आधारित छ । उनका बुबा ‘महशियन दि हट्टी’ को नाममा मसलाको कारोबार गर्थे । यद्यपि मानिसहरूले उसलाई ‘डेगी चिल्ली वाले’ भनेर चिन्दथे ।

२०१९ मा उनलाई व्यापारका लागि भारतको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement