काठमाण्डु – नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयास भइरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदलाई पेलेरै अघि बढाउने पक्षमा आफूहरू नरहेको भन्दै संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहेको बताए ।
भिजिट भिसा प्रकरणमा दलहरूबीच संवाद जारी रहेका कारण सहमति नै शुक्रबार सूचना टाँस गरी सदन स्थगित गरिएको उनले बताए । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने विपक्षीको मागका विषयमा बर्ताैलाले कुनै पनि संवैधानिक निकायलाई कमजोर बनाउने काम गर्न नहुने धारणा राखे । राज्यका संवैधानिक निकायहरूमाथि अविश्वास गर्न थाले उनीहरू कमजोर हुँदै जाने उनले बताए ।
उनले संवैधानिक निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न सक्न वातावरण बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले दलहरूबीच भएका छलफलहरू सकारात्मक ढङ्गले अघि बढेकाले आईतबारको सदन बैठक अवरुद्ध नहुने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया