महिला हिंसाको अन्त्य कहिले ?


कल्पना बास्तोला/ नारी शब्द आफैमा एउटा गर्विलो र स्नेही शब्द हो । जसबाट मानिसको सृष्टि चलिरहेको छ । तर आजको समाजमा पनि उहीँ नारी माथिको हिंसा क्रूर र दर्दनाक बन्दै गइरहेको छ, चाहे लैङ्गिक होस् वा शारीरिक होस् वा पारिवारिक होस् जसको बिरुद्ध आजको सभ्य समाज बोल्नैपर्छ । तर हाम्रो समाजको शिक्षित बर्ग यसको विरुद्धमा खुलेर बोल्न सकिरहेको अबस्था छैन यो आखिर कहिले सम्म ? यो हाम्रो युस्ताको लागि दुर्भाग्यको कुरा हो । शिक्षित बर्ग मौन बस्नु वा उहीँ बर्गबाट नारी माथी विभिन्न प्रकारका हिंसा वा दमन हुने यस्तो परिस्थितिले हाम्रो समाजमा परिवर्तनको परिकल्पना गर्न सकिन्छ ?

यतिखेर विश्वमा महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । सन् १९९१ देखि सुरु भएको लैगिक हिंसा विरुद्धको अभियान यस वर्ष पनि मनाईंदै छ । नेपालले पनि २०५४ सालदेखि लैगिक हिंसाविरुद्धको सोह्र दिने अभियान मनाउँदै आइरहेको छ । आधा आकाश ओगट्ने महिलाहरु आजको आधुनिक युगमा पनि हिंसाको शिकार हुनु र आफ्नो मौलिक अधिकारबाट बञ्चित हुनु भनेको आफैंमा लज्जाको विषय हो ।

नेपालमा महिला हिंसा सदियौदेखि अनेक रुपले भएको देखिन्छ । जीवन चक्रको सुरुवाती अवस्था देखिनै हिंसा भएको उदाहरण छन् । गर्भावस्थामा लिङ्ग पहिचान गरी गर्भपतन गर्नु गर्भवती समयमा कुटपिट हुनु, छोरी जन्माउनुको एकल दोषारोपण वा अन्य मानसिक पिडाहरु जहाँ छोरी जन्मिदै पनि कयौं बिभेदको सामना गर्नुपर्ने समाजमा बाल यौन दुव्र्यवहार, हाड नाता करणी, पौष्टिक आहार तथा शिक्षामा भेदभाव, बाल बिबाह, जबर्जस्ति बिवाह तथा दाइजोको कारणबाट पनि कयौं महिलाहरु मृत्यु बहन गर्न बाध्य छन् ।

विश्वब्यापी तथा नेपालको इतिहास हेर्ने हो भने हिंसाका विरुद्ध आवाज बुलन्द गर्ने सशक्त महिला योगमायाको त्याग तपश्यालाई कसैले नकार्न सक्दैन । वि.स.१८६७ मा पुर्वी पहाड भोजपुरमा जन्मिएकी योगमायाले राणा शासनकालमा महिलालाई सतीका रुपमा जिउँदै जलाउने, कमलरी प्रथा जुन प्रथामा मानिसलाई पशुसरह दासदासी बनाउने गरिन्थ्यो त्यसको विरुद्धमा सशक्त विद्रोहको आवाज उठाएकी थिइन् ।

परिणाम स्वरुप मानिस दासदासीबाट मुक्ति भए । सती प्रथाको अन्त्य भयो । तर घरेलु हिंसा, छोरीलाई शिक्षा, बालबिबाह, बहुविबाह, यौन हिंसा, जातीय विभेद, धार्मिक अन्धविश्वास, आदी जस्ता अत्याचार र विभेदले हाम्रो समाजमा आजसम्म पनि जरो गाडेर बसेको छ ।

बाँचुन्जेल समाजका विकृतिहरु चिर्न आफ्नो समय ब्यतित गरेकी योगमायाले यो समाजमा सदियौदेखि रहि आएको पितृसत्तात्मक सोच, सामन्ती सोच, शोषण, जातीयताका आधारमा गरिने छुवाछुद,विभेद , लैङ्गिक हिंसा विरुद्ध, आवाज उठाउँदा उठाउँदै वि.स.१९४१ असार २२ गते आफ्ना भक्त सहित जल समाधि लिन बाध्य हुनु पर्यो ।

समाज परिवर्तनको परिकल्पना गर्दागर्दै योगमायाले आफु लगायत अनुयायीहरु सहित प्राण त्याग गर्नु चानचुने कुरा पक्कै पनि होइन । जुन त्याग योगमायाको छ त्यो दिनलाई आज हामीले लैङ्गिक हिंसाविरुद्ध अभियानका रुपमा लिदा फरक पदैन । त्यो बेला योगमायाले सुरु गरेको विद्रोह र अहिले विश्वमा चलेको १६ दिने अभियानको उदेश्य महिला र बालिकामाथि हुने हिंसा अन्त्य गर्नु नै हो । यसरी १६ दिने महिला हिंसा विरुद्धको अभियान मनाइरहदा हिंसाको मुल जड कहाँ छ ? किन र के का लागि हिंसा भइरहेको छ भन्ने कुराको निदान हुनु र त्यस अनुसारको जनचेतना तथा कानुनी सजायको प्रत्याभूति गर्नु आजको आवश्यकता हो ।

एउटा नाबालिका छोरी आफ्नै बाबुसंग, दिदीबहीनी दाजुभाइसंग, बुहारी ससुरासङ्ग असुरक्षित र भयभित हुनुपर्ने अवस्थाको अन्त्य कहिले होला ? एक्काइसौं शताब्दीमा हाम्रो समाजमा एउटी महिलालाई कथित बोक्सीको आरोपमा बर्बर यातना दिने, जिउँदै जलाउने तथा महिनावारी भएकै कारण कतिपय समाजमा किशोरी छाउपडी बस्न बाध्य छिन् । महिला अधिकारको बारेमा ठुला ठुला कुरा गर्ने समाजको अगुवा पुरुषले आफ्नो श्रीमतीलाई बन्द कोठामा थुनेर चोकमा भाषण गरिरहेको हुन्छ । भलै आजको पिढी शिक्षित किन नहोस् तर परम्परागत सोचमा खासै परिवर्तन भएको पाइदैन । यसले समावेशी र दिगो विकासमा चुनौतीहरु थपेको छ । पछिल्लो समय कोरोना कहरले आक्रान्त बनेको समाजमा महिला हिंसाका घटनाहरु अस्वभाविक बढेको देखिन्छ ।

सम्मान र स्वाभिमानपूर्वक बाँच्न पाउनु हरेक व्यक्तिको नैसर्गिक अधिकार हो । कुनै पनि व्यक्तिलाई लैङ्गिक विभेदकारी सामाजिक मुल्य मान्यताका आधारमा शारीरिक, मानसिक तथा यौनजन्य डर, त्रास, धम्की लगायतका क्रियाकलापहरुले समाजमा भएको सामाजिक भावनालाई खल्बल्याउँछ । साथसाथै यसले व्यक्तिको विकास र समानतामा असर पुर्याउँछ । यस्ता हिंसाले व्यक्तिको पहिचान लगायत समानता, स्वतन्त्रता, अवसर आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हनन भएको हुन्छ ।

लैगिक समानताको वकालत गर्ने लोकतान्त्रिक मुलुक र खासगरी नेपाल जस्तो पूर्वीय दर्शन बोकेको समाजमा समान अधिकार सुनिश्चित गर्न सके मात्रै सही अर्थमा समृद्ध नेपाल सुरक्षित नारीको अबधारणाले सार्थकता पाउने थियो । वर्षैदेखिको सामन्ती सोचविचार र संस्कृतिले लादेको पितृसत्तात्मक सोच परिर्वतन गराउन अब महिलाहरु पनि जाग्नु जरुरी छ ।

नेपालको अन्तरिम संविधान २०६३ को मौलिक हक अन्तर्गत धारा २० ले महिलाको हकमा कुनै पनि महिला विरुद्ध शारीरिक, मानिसक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन र त्यस्तो कार्य कानूनद्धारा दण्डनीय हुनेछ भनी उल्लेख गरिएको छ । त्यसैले प्रत्येक घर घरबाट महिलामाथि हुने गरेका सबै प्रकारका हिंसा विरुद्ध आवाज उठाउनु आजको आवश्यकता हो । आउनुहोस्, तपाई अनि म आजैदेखि घरैबाट सुरु हुने महिला हिंसा अत्यको लागि ‘एकाकार र गोलबन्द गरौ । सशक्त आवाज र प्रतिकार गरौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement