धादिङमा नायिका महिमा सिलवाल सवार स्कुटर दुर्घटना, दिदीबहिनीको मृत्यु


काठमाडौं – नेपाली चलचित्रकी नायिका महिमा सिलवाल र उनकी बहिनीको स्कुटर दुर्घटनामा ज्यान गएको छ । धादिङको गजुरी–२, चम्बासमा नायिका सिलवाल र उनकी बहिनी सर्मिला सवार स्कुटरलाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गजुरी इलाका प्रहरी कार्यालयका डीएसपी खगेन्द्रराज खड्काका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी २२ वर्षीया महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो भने उनकी बहिनी २० वर्षीया सरु भनिने सर्मिलाको उपचारकै क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

डीएसपी खड्काका अनुसार सिलवाल दिदीबहिनी बा ९८ प ७०५८ नम्बरको स्कुटरमा काठमाडौंबाट आफ्नो घर भरतपुर महानगरपालिका–१२ शिवनगर जाँदै थिए ।

ठक्कर दिने बससहित चालक पाल्पाका रन्जित गौतमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नायिका महिमाले ‘कारबाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले अप्रिल फुल, चियर्स, दानव, जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement