काठमाडौं – विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई महानगरीय अपराध महाशाखाले गएराति १२:२० बजे पक्राउ गरेको छ । माइला लामा काभ्रेबाट काठमाडौं छिर्ने्वित्तिकै पक्राउ परेको खुलेको हो ।लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् ।
उनीहरुको साथबाट चारवटा मोबाइल र विप्लव समूहको दस्तावेज समेत बरामद गरेको महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए ।माइला लामा काठमाडौंका नख्खु, अनामनगर, सुकेधारा लगायतका बिभिन्न स्थानमा भएका बम विस्फोटमा संलग्न रहेको प्रहरीको दाबी छ ।
काठमाडौं सीतापाइलामा बस्दै आएका लामा विप्लव समूहको एक प्रभावशाली नेता हुन् । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए । लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत थिए । तर, पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए । काठमाडौंको सीतापाइलाका माइला लामा विप्लव समूहको उपत्यका व्युरो प्रमुख हुन् ।
माओवादी जनयुद्धको क्रममा उनका हातका केही औंलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ । उनले सयौं क्रान्तिकारी गीत गाएका छन्, संगीत दिएका छन् र लेखेका पनि छन् । उनले संगीत दिएका धेरै गीतहरुमध्ये नेत्रविक्रम चन्द (विप्लव)को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित छ । राजधानीमा विप्लव समूहले मच्चाएको चन्दा आतंकको मुख्य सूत्रधार पनि उनै भएको प्रहरीले दाबी गर्दै आएको छ ।
सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा बीच वार्ताका लागि अनौपचारिक छलफल चलिरहेका बेला लामा पक्राउ परेका हुन् । तर, औपचारिक वार्ताका लागि भने दुवै पक्ष अझै तयार देखिएका छैनन् । दुवै पक्षले अनौपचारिक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारिक पत्र’ मा गएर अड्किएको छ । विप्लव पक्षले सरकारले औपचारिक पत्र लेखेमा वार्तामा बस्न तयार रहेको बताए पनि सरकारले पत्र लेखिहाल्ने संकेत देखाएको छैन । गत फागुन २ मा सरकारले चन्द नेतृत्वको पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएको थियो ।
त्यसपछिको चार महिना अवधिमा आन्तरिक र मुठभेडका नाममा ८ जना विप्लवका नेताकार्यकर्ता र १ प्रहरीको ज्यान गएको छ । विप्लवलाई वार्तामा ल्याउन नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले अलगअलग तीन थरी टिम परिचालन गरेका छन् ।




प्रतिक्रिया