काठमाण्डु– जेनजी अभियानी माजिद अन्सारीले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक अपिल गरेका छन् ।
अन्सारीले सोमबार सामाजिक सञ्जालमार्फत जीवन रक्षाका लागि अपिल गरेका हुन् ।
सबै सम्बन्धित सरकारी निकाय, संघीय संसदका सदस्य, प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकहरूसँग आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन मादिले भनेका छन् ।
सुकुम्बासी राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि अन्सारी शनिबार त्यहाँ पुगेका थिए । अन्सारीलाई कुटपिट र लछारपछार गर्दै प्रहरीले भ्यानमा राखेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
कुटपिटबाट अनुहार र आँखामा चोट लागेका उनको त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । अन्सारीले प्रहरीले आफूलाई अकारण गैरकानूनी रुपमा पक्राउ गरी कुटपिट गरेको उल्लेख गरेका छन् ।
आफूलाई पक्राउ गर्नुको कारणबारे कुनै जानकारी नदिइएको तथा पक्राउ पुर्जी नथमाएको बताए ।
अन्सारीले गृहमन्त्री सुधन गुरुङ र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग आफूलाई पक्राउ गर्नुको कारण सार्वजनिक रूपमा स्पष्ट गर्न भनेका छन् ।
‘शनिबार साँझ ५ बजेतिर १० १२ जना प्रहरीले लछारपछार गर्दै कुटपिट गरी गम्भीर घाइते बनाएकोमा हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मेरो उपचार भइरहेको छ । मलाई अहिलेसम्म मेरो पक्राउको कारण बारेमा कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी देखाइएको छ । मेरो पक्राउको कानूनी हैसियत बारेमा पनि कुनै स्पष्टता छैन । के गृहमन्त्री वा प्रहरी प्रमुख ज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैरकानूनी कारबाहीहरू किन यति लक्षित तरिकाले म विरुद्ध गरियो’, उनले लेखेका छन्, ‘त्यसैले म सबै सम्बन्धित अधिकारीहरू, संघीय संसदका सबै माननीय सदस्यहरू, प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदायहरू तथा सबै मानव अधिकार रक्षकहरूलाई मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्दछु ।’
घाइते अवस्थामा उपचार गराइरहेका उनलाई प्रहरीले घेरेर राखेको छ । शनिबारदेखि नै प्रहरीले उनलाई अघोषित नियन्त्रणमा लिएको छ ।
जेनजी अभियन्ताहरुले अन्सारीलाई पक्राउ गरेर मुद्धा चलाउने तयारीमा सरकार रहेको आरोप लगाएका छन् ।




प्रतिक्रिया