मालपोत अधिकृतक सहित ११ जना माथि कारबाही सुरु


जुम्ला – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको गुठीचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ५९० रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका ११ जनालाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

साबिक गुठीचौर गाविस–६ को कित्ता नम्बर ३ को ५९० रोपनी अर्थात् करिब ४५ बिघा सरकारी जग्गा तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले २०६६ सालमा आफन्तको नाममा पास गराएको उजुरी २०७३ सालमा अख्तियारमा परेपछि अनुसन्धान अघि बढेको थियो । न्यौपाने सेवा निवृत्त भइसकेका छन् ।

अख्तियारले सातदिने सूचना जारी गर्दै उनकी श्रीमती गोमा न्यौपाने, छोरी पार्वती न्यौपानेसहित अन्य ११ जनालाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो । यस्तै, कविदत्त न्यौपाने, केशवराज न्यौपाने, नवऋषि न्यौपाने, देवेन्द्रप्रसाद उपाध्याय, विष्णुऋषि शर्मा न्यौपाने, जानकीदत्त देवकोटा, विष्णुलाल न्यौपाने, विष्णु न्यौपाने, मायालाल न्यौपानेलाई पनि सात दिनभित्र अख्तियारमा हाजिर हुन निर्देशन दिइएको छ ।

सात दिनभित्र हाजिर नभए कानुनबमोजिम ‘कारबाही गर्ने’ अख्तियारको तयारी छ । अख्तियारले सो जग्गालाई लिएर केही व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार गुठीचौर जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।यसअघि मालमोत अधिकृत न्यौपानेले सार्वजनिक जग्गा श्रीमती, छोरी र आफन्तको नाममा दर्ता गरेको खुल्न आएको थियो ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement