म्यानचेस्टर – नयाँ प्रशिक्षकको आगमनले संकटबाट बाहिर निस्कने आशा गरेको म्यानचेस्टर युनाइटेडको अवस्था झन् निराशाजनक देखिएको छ।
इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा खराब प्रदर्शनका कारण दबाबमा रहेको युनाइटेडले प्रशिक्षक परिवर्तन गरे पनि त्यसको पहिलो परीक्षामै लज्जास्पद हार बेहोरेको छ।
नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा पहिलो खेल खेलेको युनाइटेड आइतबार राति चिरप्रतिद्वन्द्वी लिभरपुलसँग ४–० गोलअन्तरले पराजित भयो।
एनफिल्डमा भएको यो हारले युनाइटेडको कमजोर रक्षात्मक प्रदर्शनलाई मात्रै उजागर गरेन, टोली युरोपका शीर्ष पाँच लिगमध्ये सबैभन्दा बढी गोल खाने टोलीसमेत बनेको छ।
लिभरपुलसँगको हारपछि युनाइटेडले यस सिजन सबै प्रतियोगितामा गरी ३४ गोल खाइसकेको छ। युरोपका इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा, इटालियन सिरी ‘ए’ र फ्रेन्च लिग वानका टोलीमध्ये यो सबैभन्दा खराब रक्षात्मक तथ्यांक हो।
युनाइटेडभन्दा एक गोल कम खाएका प्रिमियर लिगकै क्रिस्टल प्यालेस र जर्मनीको युनियन बर्लिन सूचीमा त्यसपछि छन्।
प्रिमियर लिगमा मात्रै युनाइटेडले २३ गोल खाइसकेको छ। तालिकाको पुछारमा रहेको क्रिस्टल प्यालेसले २७ गोल खाएको छ। ११ खेलपछि दोस्रो स्थानबाट होइन, दोस्रो पुछारबाट लिगमा संघर्ष गरिरहेको युनाइटेडको अवस्था यसले थप प्रस्ट पार्छ। टोलीले अहिलेसम्म लिगमा एक खेल मात्रै जितेको छ।
पुरानै समस्या
युनाइटेडले खराब लयलाई बदल्ने अपेक्षासहित पोचेटिनोलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो। यसअघि टोटेनहम हटस्पर, चेल्सी र पेरिस सेन्ट जर्मेनजस्ता क्लब सम्हालिसकेका अनुभवी प्रशिक्षकको आगमनलाई टोलीमा नयाँ ऊर्जा भर्ने अवसरका रूपमा हेरिएको थियो।
तर उनको पहिलो खेल नै निकै खराब रह्यो। खेलको आठौँ मिनेटमै डिफेन्डर लेनी योरोले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि लिभरपुलले खेलमा आफ्नो पकड बलियो बनाउँदै चार गोल गर्यो।
योरोले अलेक्जेन्डर इसाकलाई पेनाल्टी क्षेत्रबाहिर लडाएपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएका थिए। त्यसलगत्तै प्राप्त फ्रिकिकमा लिभरपुलका खेलाडीले गोल गर्दै अग्रता बनाएका थिए।
युनाइटेडका प्रशिक्षक पोचेटिनोले भने योरोको रातो कार्डप्रति असन्तुष्टि जनाएका छन्। बल गोलरक्षकको नियन्त्रणमा जाने अवस्थामा रहेको र योरोको इसाकलाई चोट पुर्याउने नियत नरहेको उनको तर्क थियो। उनले खेलको सुरुआती मिनेटमा युनाइटेडका लागि सम्भावित पेनाल्टी नदिइएको प्रसंगसमेत उठाए।
तर रातो कार्डलाई हारको मुख्य कारण देखाएर मात्रै उम्कन सक्ने अवस्था युनाइटेडसँग छैन। पोचेटिनोले स्वयं टोलीको प्रदर्शनमा जिम्मेवारी लिनुपर्ने बताएका छन्। उनका अनुसार खेलाडीले आफ्नो ध्यान, एकाग्रता र मैदानमा निर्णय गर्ने क्षमतामा सुधार गर्न आवश्यक छ।
नेभिल र केनको आक्रोश : क्लबको स्तर कहाँ पुग्यो ?
युनाइटेडको प्रदर्शनपछि क्लबका पूर्वखेलाडी तथा फुटबल विश्लेषक ग्यारी नेभिल र रोय किनले कडा आलोचना गरेका छन्।
युनाइटेड अहिले युरोपकै सबैभन्दा कमजोर रक्षात्मक टोली बनेको नेभिलले बताएका छन्। प्रिमियर लिगको दोस्रो पुछारमा रहनु र विपक्षीलाई लगातार गोल गर्ने अवसर दिनुले क्लबको स्तर निकै खस्किएको उनको टिप्पणी छ।
उनले भने, ‘एनफिल्डमा ४(० को हारलाई सामान्य घटनाजस्तो मान्न थालिएको छ। क्लबको स्तर यति तल झरेको छ कि यो अविश्वसनीय लाग्छ। तर समर्थकको अपेक्षा घटेको छैन। उनीहरू हरेक साता प्रतिस्पर्धात्मक म्यानचेस्टर युनाइटेड हेर्न चाहन्छन्।’
नेभिलले युनाइटेडको रक्षात्मक अवस्था युरोपकै खराब रहेको र ५४ वर्षयताकै खराब सुरुआत गरेको तथ्यसमेत औँल्याएका छन्। उनका अनुसार सन् १९७२ यता ११ खेलपछि युनाइटेडले यति कम अंक जोडेको थिएन।
अर्का पूर्वकप्तान रोय किन भने टोलीको प्रदर्शनप्रति अझै आक्रामक देखिए। उनले १० खेलाडीमा रहेर पनि राम्रो नतिजा निकाल्न सकिने भन्दै खेलाडीले आफ्नो जिम्मेवारीबाट भाग्न नहुने बताए।
‘समर्थकले खेलाडीलाई ताली बजाइरहेका थिए। तर केका लागि ताली रु यस्तो खराब प्रदर्शनका लागि रु लिभरपुलले आठ वा नौ गोल गर्न सक्थ्यो,’ किनले भने।
उनले युनाइटेडका खेलाडीले सामान्य रक्षात्मक जिम्मेवारीसमेत पूरा गर्न नसकेको टिप्पणी गरे। उनका अनुसार विपक्षीको आक्रमण रोक्ने, खाली ठाउँ पुर्ने, फर्किएर रक्षात्मक भूमिकामा उभिने र खेलप्रति भोक देखाउने कुरामा युनाइटेड निकै कमजोर छ।
किनले प्रशिक्षक र व्यवस्थापनलाई मात्रै दोष दिएर खेलाडी उम्कन नहुने पनि बताए। पछिल्ला केही सिजनदेखि क्लबले प्रशिक्षक परिवर्तन गरे पनि खेलाडीको जिम्मेवारी र प्रदर्शनमा सुधार नआएको उनको भनाइ छ।
जनवरी पनि चुनौतीपूर्ण
युनाइटेडको तत्कालीन आवश्यकता रक्षापंक्तिमा सुधार गर्नु हो। तर जनवरीको खेलाडी किनबेचमा समेत क्लबले अपेक्षित खेलाडी भित्र्याउन कठिन हुने नेभिलको विश्लेषण छ।
युनाइटेडलाई रक्षकको आवश्यकता रहेको कुरा सबैलाई थाहा भइसकेको उनी बताउँछन् । यस्तो अवस्थामा अन्य प्रिमियर लिग क्लबबाट राम्रो रक्षक भित्र्याउन खोज्दा युनाइटेडले बढी रकम खर्च गर्नुपर्ने हुन सक्ने उनले भनाइ छ।
‘अहिलेको अवस्थामा जनवरीमा म्यानचेस्टर युनाइटेड जान खेलाडीको लाम लाग्ने अवस्था छैन। उनीहरूलाई रक्षक चाहिएको छ भन्ने सबैलाई थाहा छ। त्यसैले खेलाडी किन्न जाँदा बढी रकम तिर्नुपर्ने हुन्छ,’ नेभिलले भने।
प्रिमियर लिगका अन्य क्लब पनि आफ्नो टोली कमजोर बनाएर खेलाडी बेच्न इच्छुक नहुने उनको तर्क छ। युरोपेली प्रतियोगितामा छनोट हुने र रेलिगेसनबाट जोगिने दबाबका कारण प्रतिस्पर्धी क्लबले मध्यसिजनमै महत्त्वपूर्ण खेलाडी छाड्ने सम्भावना कम रहेको उनले बताए।
यसले पोचेटिनोका लागि अर्को चुनौती थपेको छ। तत्काल नतिजा सुधार्नुपर्ने दबाब एकातिर छ भने अर्कोतिर कमजोर रक्षापंक्ति र सीमित खेलाडी विकल्पसँग काम गर्नुपर्ने बाध्यता छ।
नयाँ प्रशिक्षकबाट मात्रै सुधार सम्भव छ ?
युनाइटेडको अहिलेको अवस्था हेर्दा प्रशिक्षक परिवर्तन मात्रै समस्याको समाधान नहुने देखिन्छ। पछिल्ला वर्षमा क्लबले प्रशिक्षक परिवर्तन गर्दै आए पनि मैदानमा स्थिरता र निरन्तरता कायम गर्न सकेको छैन।
ग्यारी नेभिलले पोचेटिनोको अनुभव र विगतका ठूला क्लबमा काम गरेको पृष्ठभूमिका कारण उनीप्रति केही आशा व्यक्त गरेका थिए। तर पहिलो खेलमै ४–० को हारले त्यो आशामाथि प्रश्न उठाएको छ।
यद्यपि एउटा खेलकै आधारमा नयाँ प्रशिक्षकको क्षमता मूल्यांकन गर्नु उचित हुँदैन। योरोको रातो कार्डले खेलको समीकरण बदलिएको थियो। तर त्यसअघि र त्यसपछि पनि युनाइटेडले देखाएको रक्षात्मक कमजोरी, खेलाडीबीचको समन्वय अभाव र लगातार विपक्षीलाई अवसर दिने प्रवृत्ति पुरानै समस्याको निरन्तरता हो।
पोचेटिनोका लागि अब चुनौती खेलाडीको मनोबल फर्काउने मात्रै होइन, रक्षात्मक संरचना बलियो बनाउने, खेलाडीबाट जिम्मेवारीबोध गराउने र टोलीलाई प्रतिस्पर्धात्मक लयमा फर्काउने पनि हो।
कुनै समय इंग्लिस फुटबलमा दबदबा कायम गरेको म्यानचेस्टर युनाइटेड अहिले लिगको पुछारतिर संघर्ष गरिरहेको छ। युरोपकै खराब रक्षात्मक तथ्यांक र नयाँ प्रशिक्षकको पहिलो खेलमै बेहोरेको ४(० को हारले क्लबको संकट कति गहिरिएको छ भन्ने देखाएको छ।



प्रतिक्रिया