रास्वपा सदस्यहरू व्यक्तिगतरूपमा हिन्दूवादी अभियानमा आबद्ध हुन पाउँछन् : नेता झा

रास्वपा सदस्यहरू व्यक्तिगतरूपमा हिन्दूवादी अभियानमा आबद्ध हुन पाउँछन् : नेता झा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद मनिष झाले रास्वपा सदस्यहरू व्यक्तिगतरूपमा हिन्दूवादी अभियानमा आबद्ध हुन पाउने बताएका छन् ।

आईतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दू सम्राट सेनाको तर्फबाट सरकारसँग भएको वार्तामा सहभागी प्रतिनिधि रास्वपाका सदस्य रहेको स्वीकारे ।

हिन्दू सम्राट सेनाका प्रतिनिधि रास्वपाकै सदस्य रहेको विषय सार्वजनिक भएपछि पार्टीको आलोचना भए पनि त्यसलाई अनावश्यकरूपमा विवादको विषय बनाइएको उनले गुनासो गरे ।

‘कुनै पनि व्यक्तिले राजनीतिक दलको सदस्य रहँदै आफ्नो धार्मिक आस्था र त्यससँग सम्बन्धित अभियानमा सहभागी हुन पाउनु व्यक्तिगत स्वतन्त्रताको विषय हो । वार्तामा सहभागी भएकै आधारमा प्रश्न उठाउनु उचित हुँदैन,’ उनले भने, ‘हाम्रो पार्टीका सदस्यमध्ये १ जना हिन्दूवादी अभियन्ता पनि हुनुहुन्छ । उहाँ रास्वपाको सदस्य हुनु र हिन्दूवादी अभियानमा सक्रिय हुनु एकअर्कासँग बाझिने विषय होइन । त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता हो । हामीले उहाँलाई आन्दोलनलाई हिंसात्मक दिशामा लैजानुभन्दा संवादमार्फत समाधान खोज्ने प्रक्रियामा सहभागी गराएका हौँ । सरकारसँग वार्तामा बस्नु कुनै पनि नागरिकको अधिकार हो । आन्दोलन भनेकै तोडफोड, आगजनी वा हिंसामा सीमित हुनुपर्छ भन्ने सोच गलत हो ।’

रास्वपामा कुनै भातृ संगठन नभए पनि पार्टीका सदस्यहरूले आफ्नो धार्मिक आस्था खुला रूपमा राख्न सक्ने र त्यससँग सम्बन्धित अभियानमा व्यक्तिगत हैसियतमा सहभागी हुन सक्ने उनले स्पष्ट पारे । त्यस्ता व्यक्तिहरू आवश्यक पर्दा सरकारसँग हुने वार्तामा समेत सहभागी हुन सक्ने उनले बताए ।

हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग सरकारले करिब साढे ९ घण्टा लामो वार्ता गरेको सांसद झाले बताए ।