काठमाण्डु- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवम् नेता मनिष झाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिइएर छाडिएको घटनामा सरकारले गलत गरेको बताएका छन् ।
पत्रकार सुधीर शर्मासँगको ‘अनि अब’ पोडकास्ट अन्तर्वार्तामा नेता झाले घटनाबाट आफूहरू असन्तुष्ट रहेको बताउँदै सरकारका यस्ता गलत कामको समर्थन गर्न नसकिने उल्लेख गरे।
पूर्वप्रधानन्यायाधीश जबरा मात्रै नभई कतिपय नेताहरूलाई पक्राउमा पूर्वतयारी नहुँदा सरकारको कदममाथि प्रश्न उठेको उनको भनाइ थियो । झाले पक्राउ पर्नेहरू छुट्ने क्रमले चोख्याउने प्रयास त भएको थिएन भन्ने प्रश्नसमेत उठेको उल्लेख गरे ।
‘पूर्वनेताहरूलाई पक्राउ गर्ने, आवश्यक पूर्वतयारी नगर्ने र जुन कारणले पक्राउ गरिएको हो, त्यसअनुसारको निष्कर्षमा नपुग्ने अवस्था भयो भने अप्रत्यक्ष रूपमा कतै चोख्याउने प्रयास भएको त थिएन भन्ने प्रश्न उठ्छ,’ झाले भने, ‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरजीको पक्राउसहित सबै कुरामा असन्तुष्टि छ । यो कुरा गलत हो । यस्तो–यस्तो गर्नु हुँदैन ।’
जबरालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको घटनालाई लिएर सरकारसँग जवाफ मागिरहेका बेला रास्वपाका कतिपय नेता र सांसद बोल्न अप्ठ्यारो मानिरहेको शर्माको प्रश्नमा त्यसले आफूहरूलाई अप्ठ्यारो पारेको झाले स्वीकारे । ‘अप्ठ्यारो पारेको छ, पारेको हुन्छ,’ उनले भने ।
सरकारको नेतृत्व गरिरहेको आफ्नै पार्टीका कामको आलोचना गर्दा त्यसलाई अवसर नपाएको असन्तुष्टिका रूपमा अर्थ लगाउने काम पार्टी भित्रैबाट भएको उनले बताए । आफूले सरकारका कतिपय निर्णय र गतिविधिको सार्वजनिक रूपमै आलोचना गर्दै आएको बताउँदै झाले त्यो सहयोगका रुपमा भएको स्मरण उनले गराए ।
सञ्चारगृहको अगाडि सरकारी गाडी तेर्स्याइएको घटनामा आफूले सामाजिक सञ्जालमार्फत विरोध गरेको उल्लेख गर्दै उनले त्यस्तो बचपनाले राजकाज नचल्ने स्पष्ट गरे । ‘यस्तो काम गर्नका लागि ७६ जनाको ज्यान गएको होइन, यो नगर भनेर मैले भनेको थिएँ,’ उनले भने ।
मिडिया हाउस अगाडि गाडी तेर्स्याइएको प्रकरणमा विरोध जनाउँदा मन्त्रिपरिषद्का सदस्य, प्रधानमन्त्री वा उनको सचिवालयका कसैले पनि आफ्नो विरोध गर्न नसकेको भन्दै उनले बरू केही नेताले ‘तिमीले हिम्मत गर्यौ, हामीलाई सजिलो भयो’ भनेको उल्लेख गरे ।
सदनमा समेत आफूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको झाले बताए । गाडीको कालो सिसा हटाएपछि ‘अब कालो चश्मा पनि हटाउने कि’ भनेर आफूले सदनमै प्रश्न गरेको उनको भनाइ थियो ।
सरकारका काममा आफ्नो आलोचनालाई पार्टीभित्र अवसर नपाएको असन्तुष्टिका रूपमा व्याख्या गर्नु ‘बौद्धिक दरिद्रता’ भएको उनले टिप्पणी गरे ।
‘यसलाई साथीहरूले विरोध गर्दैछ अथवा आफूले अवसर नपाएकोमा असन्तुष्ट हुँदैछ भनेर बुझिदिनु र चर्चा गर्नु उहाँहरूको बौद्धिक दरिद्रता हो,’ झाले भने ।
पार्टीको वर्तमान अवस्थाप्रति आफ्नो गम्भीर सरोकार रहेको उनले बताए । आफू रसातलमा पुगेको पार्टीलाई संकटबाट जोगाउँदै यहाँसम्म ल्याउने सहकर्मीमध्ये एक भएकाले पार्टीका निर्णय र नेतृत्वका गतिविधिप्रति चासो राख्नु स्वाभाविक भएको उनले बताए ।
झाले आफ्ना लागि पार्टी, पद र राजनीति भन्दा आत्मसम्मान महत्वपूर्ण हुने पनि बताए । ‘पार्टी, पद, राजनीतिभन्दा पनि आत्मसम्मान महत्वपूर्ण होला नि,’ उनले भने ।
उनले पार्टीका निकट सहकर्मी र पुराना राजनीतिज्ञहरूसँग राजनीतिक नेतृत्वको भविष्यबारे समेत छलफल हुने गरेको बताए ।
राजनीतिज्ञको राजनीतिक जीवन कसरी अन्त्य हुन्छ भन्ने विषयमा आफूहरूले गम्भीर रूपमा सोच्ने गरेको उनको भनाइ थियो ।
‘हामी कस्तो अन्त्य चाहन्छौं भनेर कुरा नै गर्छौं । हामी प्रदीप गिरिको जस्तो अन्त्य चाहन्छौं कि देशै फर्किन नसक्ने मन्त्रीको जस्तो अन्त्य चाहन्छौं भनेर सचेत हुनुपर्छ भनेर त्यो गहिराइसम्म हामी कुरा गर्छौं,’ झाले भने ।
त्यसैले आफूले राजनीतिक सम्झौता नगर्ने उनको दाबी छ। ‘सम्झौता गरेर राजनीति गरिएको पनि छैन र गरिँदैन,’ झाले भने ।




प्रतिक्रिया