पहिलाे पटक प्रतिस्पर्धाबाट ‘सेना प्रमुख सुवेदार’: प्रधानसेनापतिद्वारा मनोजकुमारलाई दज्यानी चिह्न प्रदान


काठमाडौ– नेपाली सेनाले प्रतिस्पर्धाका आधारमा  मनोजकुमार चौधरीलाई  सेना प्रमुख सुवेदारको रूपमा छनोट गरेको छ।  सेना प्रमुख सुवेदारकाे छनाेट पहिलाे पटक प्रतिस्पर्धाबाट भएकाे हाे।

सेनाका प्रवक्ता यामप्रसाद ढकालका अनुसार  मुलुकभरका गण र गुल्मका सुवेदार–मेजरमध्येबाट प्रतिस्पर्धाका आधारमा २४ नम्बर बाहिनी अङ्डाका सुवेदार चाैधरी उक्त पदमा छनोट भएका हुन्।

याे पद  सेनाभित्र निकै महत्वपूर्ण मानिन्छ । सेना प्रमुख सुवेदारलाई  प्रधानसेनापतिको कार्यालयमा रही पदिक र तल्लो तहका सकल दर्जाका हक, हितका लागि सरसल्लाह गरेर सेनाप्रमुख समक्ष सिधै जानकारी गराउन सक्ने अधिकार  रहन्छ।

पदिकदेखि तल्लो तहसम्मका सकल दर्जाको खटन-पटनदेखि आर्थिक व्यवस्थापनसमेत रहने सुवेदार–मेजरलाई सेनाभित्र निकै जिम्मेवारीको पद मानिन्छ ।

यसअघि प्रधानसेनापतिले आफूले कमाण्ड गरेको पल्टन वा आफूले चाहेको व्यक्तिलाई जङगी अड्डाको सुवेदार–मेजरमा ल्याउने चलन रही आएको थियो ।

आफूभन्दा माथिल्लो तहमा रहेपनि सहायक सेनानीदेखि गणपतिसम्मलाई आवश्यक सरसल्लाहसहित अनुशासन र सैनिक आचरणमा रहन प्रेरित गर्ने जिम्मेवारीसमेत रहने हुनाले तल्लो तहमा भर्ना भएका प्रत्येक सैनिकले कम्तिमा पनि सुवेदार–मेजर हुने आकाङ्क्षा राख्ने गरेका छन्।

नेपाली सेनामा तालीम, बढुवा, जिम्मेवारीलाई बस्तुनिष्ट र पारदर्शी तुल्याउने क्रममा पहिलो पटक सेना प्रमुख सुवेदारको छनोट भएको प्रवक्ता ढकालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement