मनोज पुनलाई सघाएको आरोपमा समातिए युवा संघका नेता सुजु मल्ल


रुपन्देही – गुण्डा नाइके मनोज पुनलाई सघाएको आरोपमा बुटवलका सुजु मल्ल प्रक्राउ परेका छन् । युवा संघको काठमाडौंमा चलिरहेको केन्द्रीय समितिको बैठकमा सहभागि मल्ललाई बुधबार राति पक्राउ गरिएको हो ।मल्ललाई आज रुपन्देही ल्याउने प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

बुटवल ७ दिपनगरका मल्लले दुर्गा तिवारी र बलु पौडेलको हत्याको विरोधमा भएका आन्दोलनमा दिनभर सहभागी भएर राति सबै सूचना मनोज पुनलाई पुर्याउने गरेको प्रहरीको दावी छ । मल्लले पुनलाई पार्टीको आन्तरीक बैठकका सूचना समेत पुर्याउने गरेको प्रहरीले बताएको छ । मनोज पुन तीनै हुन, जसले युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र नेता बसन्त पौडेल बलुको हत्या गरे । मनोज पनि प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

तर, मनोजको सुराकीका रुपमा युवा संघ र माओवादीका नेता नै रहेको खुलेको छ । मनोजको योजनामा ४ पुस २०७३ मा युवा संघका नेता तिवारीको हत्या भएको थियो । तिवारी हत्याको विरोधमा युवा संघले लगातार आन्दोलन गरेको थियो । आन्दोलनको अग्रपङ्तीमा मल्ल पनि हुन्थे ।

आन्दोलनमा उत्रिएर चर्का भाषण गर्ने उनी आन्दोलन टुंग्याउनका लागि दल र प्रहरी प्रशासनसँग हुने बैठकहरुमा पनि सहभागी हुन्थे । तर, बैठकमा आएका गोप्य सूचनाहरु मल्लले नै मनोज पुनलाई दिने गरेको प्रमाण फेला परेको रुपन्देही प्रहरी प्रमुख ज्ञवालीले बताए ।२०५७ सालमा नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका मल्ल त्यसको केही समय पछि रोजगारीको लागि बेलायत गएका थिए ।

बेलायतबाट फर्किएपछि राजनीतिमा सकृय बनेका मल्ल युवा संघको बुटवलमा सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । महेश बस्नेत अध्यक्ष हुँदा युवा संघको केन्द्रीय सदस्य बनेका मल्ल अहिले पनि केन्द्रीय सदस्य नै छन् । प्रहरीले मनोज पुनलाई सघाएको आरोपमा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, एमाले कार्यकर्ता उत्तम आचार्यसहितका पाँच जनालाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement