काठमाण्डु – नेपालमा मनसुन भित्रिन अझै १ हप्ता लाग्ने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न १ हप्ता लाग्नेछ ।
मौसमविद् पौडेलले भने, ‘यही समयमा मनसुन भित्रिन्छ भन्ने एकिन गरी भन्न सकिँदैन । तर १ हप्ता आसपासमा मनसुन भित्रिने अनुमान गरिएको छ । ३–४ दिनमा बङ्गालको खाडीमा मनसुन पुग्ने देखिन्छ, त्यसपछि नेपालमा आउँदा १ हप्ता आसपास वा केही अघि वा केही दिनपछि पनि हुनसक्छ ।’
उनका अनुसार कहिलेकाहीँ मनसुन छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ ।
नेपालमा औसत जुन १३ तारिखमा मनसुन भित्रिने मिति हो । तर भारतमा तोकिएको औसत मिति १ जुनमा मनसुन भित्रिनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ । त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रिने अनुमान गरिएको मौसमविद् पौडेलले जानकारी दिए ।
‘सामान्यतया केरलामा आएको १ हप्ताभित्र नेपालमा आउने हो तर त्यसको गति भने प्रणाली कति सक्रिय हुन्छ, त्यसले निर्धारण गर्ने हुनाले हप्ता आसपास मनसुन भित्रिने अनुमान छ,’ उनले भने ।
यसपालि मनसुनमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ । कुनैकुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुने सक्ने सम्भावना समेत रहेको मौसमविद्हरूले अनुमान गरेका छन् ।
यसपालि मनसुनको समयमा ५१ हजार परिवारका २ लाख २६ हजार नागरिक प्रभावित हुने अनुमान गरिएको उल्लेख गर्दै सोहीअनुसार प्रतिकार्य राष्ट्रिय योजना बनाएर लागू गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।




प्रतिक्रिया