१२ वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी उमाकान्त चौधरीले पाए मुक्ति


नानीमैया कटवाल

सप्तरी – सप्तरीमा १२ वर्षदेखि साङ्लोमा बाँधिएका एक मानसिक रोगीको उद्धार भएको छ। अग्निसाइर कृष्णसवरन गाउँपालिका(१ का ४४ वर्षीय उमाकान्त चौधरीलाई साङ्लाबाट मुक्त गरिएको हो।

सप्तरीस्थित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि मनोहर पोखरेलको पहल र मानव सेवा आश्रमको सहयोगमा शनिबार उनको उद्धार भएको हो। उनलाई हटौंडास्थित आश्रममा राखेर उपचार तथा स्याहार गरिने आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिए। उनका विषयमा समाचार सार्वजनिक भएपछि उनको उद्धार भएको हो।

उद्धार गरिएका चौधरीसँग भेट गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय तहबाट हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। लामो समयदेखि साङ्लोमा बाँधिएका कारण उनमा मानसिक रोग जटिल भइसकेकाले अस्पतालमै भर्ना गर्नुपर्ने चिकित्सकले बताएका छन्।

तीन छोरी र मानसिक रोगी श्रीमानको पालनपोषण गर्न अर्काको खेतमा दैनिक मजदुरी गर्दै आएकी सुशीलादेवी चौधरी पतिको उद्धारले ठूलो सहयोग पुगेको बताउँछिन्।

प्रतिक्रिया दिनुहोस
Advertisement