किर्गिस्तानमा मन्त्री बस्नेतले भने ‘ हिम चितुवा संरक्षणको जिम्मा स्थानीय युवालाई दिऔं ’


काठमाडौं– नेपालले हिम चितुवा संरक्षणका लागि स्थानीय समुदाय र त्यसमा पनि युवाहरुको सहभागिता सुनिश्चित गरिनुपर्ने प्रस्ताव गरेको छ । किर्गिस्तानमा भएको हिम चितुवा पाइने १२ देशका वन तथा वातावरणमन्त्रीहरुको बैठकलाई सम्बोधन गर्दै मन्त्री शक्ति बहादुर बस्नेतले स्थानीयको सहभागिताबिना हिमचितुवा संरक्षण प्रभावकारी हुन नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले हिमचितुवा संरक्षणमा स्थानीय युवाहरुको सहभागिता वृद्धिलाई नेपालले प्राथमिकतामा राखेको जानकारी गराउँदै मन्त्री बस्नेतले एक वर्षअघि काठमाण्डौंमा बसेको बैठकको निर्णयअनुसार हिमचितुवा संरक्षण र अध्यययन\अनुसन्धानको कामलाई कार्यान्वयनको सिलसिलामा कञ्चनजंगा संरक्षण क्षेत्रमा हिमालयन अनुसन्धान केन्द्र स्थापनाको काम भइरहेको तथा अन्नपूर्ण र शे–फोक्सुण्डो क्षेत्रमा त्यस्तै प्रकारका अनुसन्धान केन्द्र स्थापना गर्ने सरकारको नीति रहेको बताउनुभयो ।

मन्त्री बस्नेतले हिमचितुवा संरक्षण कार्यलाई जडिबुटी तथा पर्यापर्यटनजस्ता कार्यक्रमसँग जोड्नुपर्ने स्पष्ट गर्नुभयो । त्यस कार्यमा स्गानीय समुदाय र नीजि क्षेत्रका अतिरिक्त राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संरक्षण साझेदार संघसंस्था समेतसँग सहकार्य गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

बिहीबारदेखि दुई दिनसम्म चलेको बैठकले जारी गरेको घोषणापत्रमा विश्वभर रहेका हिम चितुवाको संख्या गणनाका लागि सबै सदस्य राष्ट्रमा एक संयन्त्र निर्माण गरिने उल्लेख छ । त्यसका लागि सबै सदस्य मुलुकमा सम्पर्क व्यक्ति नियुक्त गरिने बताइएको छ । यस्तै घोषणापत्रमा हिम चितुवा तथा ठूला बिराला प्रजातिको अवैध निकासी पैठारी, तिनीहरुको शिकार तथा तिनका अंगहरुको अवैध व्यापार, बजारको अवैध माग तथा वन्यजन्तुविरुद्धका सबै खाले गतिविधि समेत कडाइका साथ रोक्ने बैठकको निर्णयमा छ ।

त्यसका लागि सबै सदस्य मुलुकले आ–आफ्ना विद्यमान कानूनमा आवश्यक परिमार्जन गरी कठोर व्यवस्था गरिने घोषणापत्रमा लेखिएको छ । ‘हामी सबै साझा रुपमा हिमचितुवा तथा ठूला प्रजातिका बिरालाको शिकार , व्यापार तथा बजारको अवैध माग रोक्नका आफ्नो देशको कानूनमा परिमार्जन र कडाई गर्ने छौं’, घोषणापत्रमा भनिएको छ । घोषणापत्रमा हिमचितुवाको गैरकानूनी ओसारपार र शिकारबारे सूचना आदान\प्रदानका लागि एक अर्का मुलुक मिलेर काम गर्ने पनि उल्लेख छ ।

यस्तै हिमचितुवा संरक्षणमा पु¥याएको योगदानका लागि संयुक्त राष्ट्रसंघीय कार्यक्रम (यूएनडिपी), हिम चितुवा कोषसहित सबै अन्तर्राष्ट्रिय समुदायप्रति बैठकले कृतज्ञता प्रकट गरेको छ । बैठकको अध्यक्षता वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गर्नुभएको थियो ।

बैठकमा हिमचितुवा पाइने देशहरु नेपालसहित भारत, चीन, रुस, अफगानिस्तान, भुटान, काजकिस्तान, किर्गिस्तान, मगोंलिया, पाकिस्तान, काजकिस्तान र उज्वेकिस्तानको सहभागिता थियो । नेपालको पूर्वमा कञ्जनजंघा संरक्षण क्षेत्रदेखि पश्चिममा अपि नम्पासम्म हाल हिमचितुवाको संख्या करिब पाँच सय रहेको अनुमानित तथ्यांक छ । यस्तै विश्वमा यसको संख्या ४ हजार पाँच यसयदेखि ६ हजार पाँच सयसम्म रहेको अनुमान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement