विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्छ : मन्त्री भण्डारी


काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्ने बताएका छन् ।

बुधबार खानी तथा भूगर्भ विभाग र महिला पत्रकारको समूह सम्बाहिका समाज नेपालले गोरखा भूकम्पको सम्झनामा खानी विभाग लैनचौरमा आयोजना गरेको बृहत् फोटो प्रदर्शनीको शुभारम्भ गर्दै उनले भूकम्पका बारेमा सचेत र सजग बनाउनका लागि विद्यालयको पाठ्यक्रममा जानकारी राखिनुपर्ने बताएका हुन् ।

भूकम्पले पुर्‍याएकाे क्षतिबारे व्यक्तिले बिर्सन सक्छ, तर राज्यले बिर्सन मिल्दैन, विद्यालयको पाठ्यक्रममा भूकम्पबारे जानकारी दिन सरकारकातर्फबाट मैले पहल गर्छु”, उनले भने । उनले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्र भएकाले भूकम्पको विस्तृत अध्ययन गर्दै पूर्ण सावधानी अपनाउनु जरुरी रहेको उनको भनाइ थियो ।

विसं २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु भएर सात दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर देशभर नौ हजारभन्दा बढीको ज्यान गएको थियो भने २२ हजार व्यक्ति घाइते भएका थिए । उक्त भूकम्पका कारण आठ लाख भवन भत्किएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement