स्थानीय सरकारलाई थप बलियो बनाउँछौँ :मन्त्री विष्ट

स्थानीय सरकारलाई थप बलियो बनाउँछौँ :मन्त्री विष्ट


गलकोट – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्थानीय सरकारलाई थप बलियो बनाउन वर्तमान सरकार लागिपरेको बताएका छन्। बागलुङ जिल्लाको गलकोट नगरपालिकाले बुधबार बिहान आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री विष्टले केन्द्रीय सरकारले चालेको आयोजना स्थानीयस्तरमा आउँदा प्रभावकारी नहुने परिपाटीको अन्त्यका लागि स्थानीय सरकारलाई थप जिम्मेवार बनाउने बताए।

उनले स्थानीय सरकारलाई काम गर्न दिँदा छिटो विकास हुने बताउँदै ठूला योजनाबाहेक सबै योजनालाई स्थानीय सरकारबाटै कार्यान्वयनमा ल्याउने बताए। मन्त्री विष्टले यही वैशाख १ गते गलकोटको विभिन्न क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको विवरण प्राप्त हुँदासाथ केन्द्रीय सरकारले राहत प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

मन्त्री विष्टले एक पालिका र अर्को पालिकाबीच समन्वय गरेर ठूला योजनाको प्रास्तावना ल्याएमा आफूले सहयोग गर्ने भन्दै तत्काल गलकोटमा १५ शय्याको अस्पताल बनाउनका लागि पहल गर्ने बताए। उनले सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिकामा अस्पताल, कार्यालयका लागि जग्गा प्राप्ति तथा लोकमार्गको मापदण्डका बारेमा मन्त्री विष्टलाई जानकारी गराएका थिए।

उनले नगरपालिको विकास योजनाको प्रस्तावनापत्र मन्त्री विष्टलाई हस्तान्तरण गरका थिए। कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, चन्द्रसागर बुढालगायतको उपस्थिति रहेको थियो।