निर्धक्क भएर लगाानी गर्नुहोस्, सबै सुरक्षाको जिम्मा दिन्छौँ : मन्त्री यादव


काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताएका छन् ।  दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको आज यहाँ उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको बताएका हुन् ।

‘नेपाल र बंगलादेशबीचको सबैभन्दा छोटो दूरीमा टनेल बनाउने विषयलाई अगाडि बढाएका छौँ, यो टनेल बनेपछि विश्वसँगको सम्पर्क सञ्जालमा अझै सहजता आउँछ ।’ उनले भने । नेपाल अतिकम विकसित भूपरिवेष्टित मुलुक भएकाले विश्वसँग जोडिन कठिनाइ भएको भन्दै मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका अवसरमा नेपाललाई जलमार्गसँग जोड्ने विषयलाई अगाडि बढाउने सहमति भैसकेको बताए ।

नेपालको चीनसँग पनि राम्रो सम्बन्ध रहिआएको र त्यसलाई अझ विस्तार गरेर समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले दक्षिण एशियाली मुलुकसहित सबैलाई नेपालमा लगानी गर्न आह्वान गरे । मन्त्री यादवले भने ‘निर्धक्क भएर लगानी गर्नुहोस्, हामी नेपालमा लगानीको वातावरण बनाउन तयार छौँ र सबै किसिमको सुरक्षा दिन तयार छौँ ।’  उनले छिमेकी मुलुकलाई समृद्धिको बाटोमा सँगसँगै लैजान आग्रहसमेत गरे ।

कार्यक्रममा दक्षिण एशियाली मुलुकका १५० जना साना तथा मझौला व्यवसायीको सहभागिता छ । मञ्चले दक्षिण एशियामा व्यापार सहजीकरण तथा विस्तार, पारवहन र सम्पर्क विस्तारमा सहयोग गर्दै आएको छ ।

एकदिने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश र चीनका प्रतिनिधिले विविध विषयमा छलफल गरी विस्तृत प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई दिने र क्षेत्रीय व्यापार सहजीकरणको वातावरण बनाउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement