चिनिया राजदूतसंग रक्षामन्त्रीले भने ‘चीनसंगको सम्बन्ध विस्तार प्राथमिकतामा’


काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि नवनियुक्त चिनियां राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा रक्षा मन्त्री पोखरेलले नेपाल र चीनबीच परापूर्वकालदेखि नै अत्यन्त घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रही आएको भन्दै राजदूत होउको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।  मन्त्री पोखरेलले नेपाल एक चीन नीतिको पक्षमा सदा प्रतिबद्ध रहेको बताए ।

नेकपाका प्रभावशाली नेता समेत रहेका मन्त्री पोखरेलले प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा दुई तिहाई बहुमतको सरकार गठन भएसँगै सरकारले देशको विकासको निमित्त विभिन्न महत्वपूर्ण योजना तथा कार्यक्रमहरू अघि सारेको जानकारी समेत दिए ।  उनले वर्तमान सरकारलाई चीन सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।

वर्तमान सरकारले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र फलदायी तुल्याउन चाहेको मन्त्री पोखरेलको भनाई थियो ।
भेटमा राजदूत यान्छीले नेपाल र चीनबीच पुस्तौँ पुस्तादेखि हार्दिक र मैत्रीपूर्ण सम्बन्ध रहेकोमा आफ्नो कार्यकालमा नेपाल र चीनबीचको सम्बन्धलाई थप प्रगाढ र जनस्तरसम्म विस्तार गर्न आफूले सक्दो प्रयास गर्ने बताईन ।

नेपालमा भएको राजनीतिक रूपान्तरण नेपालको विकासको लागि महत्वपूर्ण रहेको विचार व्यक्त गर्दै उनले गत वर्ष प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझ घनिष्ठ भई नयाँ युगको शुरुवात भएको दावी गरिन् ।

राजदूत यान्छीले चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाका उच्चस्तरीय पदाधिकारीहरूबाट एक(अर्का देशमा भइरहेका भ्रमणहरूबाट दुई देशका सेनाहरूबीचको सम्बन्ध अझ सुदृढ भएको र संयुक्त अभ्यास तथा तालिमले दुई देशका सेनालाई अझ नजिक हुन मद्दत पुगेको धारणा राखिन् ।

चीनसित सिमाना जोडिएका छिमेकी मुलुकहरूको द्रुत आर्थिक(सामाजिक विकासमार्फत यथाशीघ्र समृद्धि कायम हुनसकोस् भन्ने चीनका राष्ट्रपति सि जिनपिङको सदिच्छा रहेको कुरा भेटवार्ताका क्रममा राजदूत यान्छीले सुनाईन् ।

भेटका अवसरमा चिनिया राजदूतले नेपाल र चीनबीच वान वेल्ट वान परियोजना अन्तर्गत विभिन्न कार्यक्रम कार्यान्वयन गर्न चीन सरकार इच्छुक रहेको बताईन ।

प्रतिक्रिया दिनुहोस
Advertisement