मन्त्री र सांसद पद गएपनि प्रधानमन्त्री ओलीको साथ छोडिन्न : उर्जामन्त्री रायमाझी


काठमाण्डु – नेकपा (एमाले) का नव मनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गएपनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पारेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनैपनि हालतमा नछाड्ने स्पष्ट पारे । उनले भने,‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन् ।’

उनले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरु एमाले पार्टीभन्दापनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिए । उनले तत्कालिन् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दापनि अर्को पक्षले पद र प्रतिष्ठाको लागि मात्रै विरोध गरेको टिप्पणी गरे ।

मन्त्री रायमाझीले अब आफूहरु कुनैपनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने दाबी गरे । उनले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठोमात्रै बाँकी छ’ को संज्ञा दिए । उनले प्रधानमन्त्री ओलीलाई तत्कालिन नेकपाबाट सरकार र पार्टी चलाउन अवरोध गरिएको पनि आरोप लगाए । देशलाई अस्थिरतरताबाट बचाउनको लागि बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भएपनि अदालतबाट आफूहरुले मुद्दा हारेको रायमाझीले सुनाए । अर्को नेकपाको नामको विषयमा पनि आफूहरुले मुद्दा हारेको उनले सुनाए ।

उनले आफूले मोहनविक्रम सिंहको पार्टीबाट राजनीति सुरु गरेको भन्दै यो बीचमा विभिन्न कम्युनिष्ट घटक हुँदै माओवादीसम्म आईपुगेको र अहिले माओवादीबाट एमाले भएको सुनाए । आफू सही विचार र नीतिको राजनीति गर्ने व्यक्ति भएकोले अहिले ओलीले बोकेको विचार सही भएकोले यता लागेको पनि रायमाझीले स्पष्ट पारे । तर, कम्युनिष्ट पार्टी छोडेर कांग्रेस वा राप्रपामा भने नजाने उनले विश्वास दिलाए । उनले अब माओवादी केन्द्रमा कुनैपनि हालतमा फर्कने सम्भावना नरहेको दोहोर्याए ।

उनले आफूले क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा प्रसंगबस उठाएको पनि स्पष्ट पारे । बुटवलमा आयोजित पूर्व जनमुक्ति सेनाहरुको भेला कार्यक्रममा प्रसंगवश त्यो कुरा उठेकोले आफूले पनि ‘यो विषय उठेको छ र यसको खोजीनीति हुनुपर्छ’ भनेको उनले सुनाए ।

उनले भने,‘उहाँहरुले त्यो भेलामा यो कुरा उठाउनुभयो । व्यापक रुपमा यो विषय उठाउनुभयो । पहिले पनि उठिराखेकै थियो । त्यो उठिसकेपछि त्यहाँको एउटा नेताको हिसाबले, अतिथिको हिसाबले मैले भन्नपर्ने कुरा आयो । यस विषयमा कुनै न कुनै निकायले, यसको खोजिनीति हुनेछ । मैले यत्ति भनेको हो । मैले आँफै उब्जाएर भनेको होईन ।’

उनले भने,‘हामी त्यसको अध्ययनमा छौं । अब त्यो विभिन्न निकायबाट खोजी नीति होला, प्रश्न उठेको छ । त्यसको औचित्य र आवश्यकत्ताको आधारमा त्यसलाई अगाडि बढ्छ होला ।’

फरक प्रसँगमा उनले आफूमाथि लोडसेडिङ गराएको आरोप लगाउने गरिएपनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । बरु, आफू पहिलोपटक उर्जामन्त्री हुँदा ९९ बुँदे मास्टर प्लान ल्याएको र सोही गुरुयोजना अनुसार लोडसेडिङ अन्त्य गर्न मद्दत पुगेको दाबी गरे । उनले अब लोडसेडिङ हुने कुनैपनि सम्भावना नहरेको जिकिर गरे । आगामी भदौबाट नेपाल उर्जामा पूर्ण आत्मनिर्भर हुनेपनि उनले घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement