पाँचदेखि आठ वर्षसम्म कारागारमा राख्न सकिन्छ : मन्त्री थापा


काठमाडौँ-  श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरीलाई कुटपिट गर्ने दोषी भएमा पाँचदेखि आठ वर्षसम्म कारागार राखिने बताएकी छिन् ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले मन्त्रालयका सहसचिव राधिका अर्यालको नेतृत्वमा विशेष टोली घटनास्थलमा केही दिनभित्र पठाउन लागिएको र अहिलेसम्म तीन अभियुक्तलाई पक्राउ गरिएको बताउँदै नगरपालिकाका प्रमुखलाई पनि कडा कारबाही गरिने र पीडितलाई उचित संरक्षण गरिने जानकारी दिइन् ।

साक्षात्कारमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्मम कुटपिट भइरहँदा टुलुटुलु हेर्ने नगर प्रमुख ममताप्रसाद चौधरीलाई पहिला कारबाही गरेर देखाउन सरकारसँग माग गरे ।

नेकपा (माओवादी केन्द्र) का नेता लेखराज भट्टले कैलालीको घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै छ घण्टासम्म निरन्तर कुटपिट हुँदा उक्त दृश्य छायाङ्कन गरेर बसिरहने मानिस तथा निरीह र गैरजिम्मेवार जनप्रतिनिधिलाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement