माओवादीको रूपान्तरण अभियान: सरकारले गरेकाे काम देखाएर संगठन बिस्तारको लक्ष्य


काठमाण्डु- सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तीन महिने अभियान आजदेखि सुरु गरेको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादी: विशेष रुपान्तरण अभियान’को उद्घाटन गरेका हुन।

यो अभियानअन्तर्गत पार्टीका सबै शीर्ष नेताहरू समेत वडा-वडामा पुग्ने कार्यक्रम तय भएको छ। अभियानका क्रममा जनताको घरघरमा जाने र उनीहरुका गुनासा र सुझाव सुन्ने माओवादीको योजना छ।

अघिल्लो बर्ष मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामले देखाएको नयाँ पार्टीहरुप्रतिको जनताको लगावले पार्टीहरुलाई सुध्रिने वा सक्किने भन्ने प्रश्न खडा गरेको थियो।

यस्तै गत साउनमा बसेको माओवादीको केन्द्रीय कमिटी बैठकमा पनि अधिकांस सदस्यहरुले पार्टी रुपान्तरणको पक्षमा आवाज उठाएका थिए भने सोही बैठकले नै विशेष रुपान्तरण अभियान सुरु गर्ने निणर्य गरेको थियो।

माओवादीले यो अभियानलाई आफूहरूको अन्तिम परीक्षा भएको बताउदै आएको छ। पार्टीले गरेका कमजोरी महसुस गरेरै जनतासँग फर्किने अभियान घोषणा गरिएको पार्टीका नेताहरु बताउँछन्। यो अभियानबाट २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने र पार्टी सदस्य संख्या ८ लाख पुर्‍याउने लक्ष्य छ। यद्यपी यसअघि २०७९ मंसिरको आम निर्वाचनपछि फागुनमा पनि माओवादीले दुई महिने अभियान घोषणा गरेको थियो। तर त्यो घोषणामै सिमित रह्यो।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा अभूतपूर्व सफलता पाएको माओवादी एक्लैले ६०१ सदस्यीय संविधानसभामा २२० सिटका साथ पहिलो दल थियो । जसमा प्रत्यक्षतर्फ २४० मध्ये १२० सिट जितेको थियो। त्यसयता एकपछि अर्को चुनावमा आकार घट्दो छ। यसबीचमा सच्चिने अन्तिम प्रयासमा माओवादी जुटेको हो।

माओवादीले अहिले बिशेषगरि सरकारले गरिरहेका कामहरुलाई आधार मानेर संगठन बिस्तार र सुदृिढकरण अभियान चलाएको हो। नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी नियन्त्रणमा लगायत सुशासनको पक्षमा गरेका कामलाई प्रचार गर्ने पार्टीको तयारी छ।

प्रचण्डले के भने?

यस्तै पार्टी रुपान्तरण अभियानको उद्घाटन गर्दै प्रचण्डले सरकारले गरेका कामबाट माओवादी देशको सबैभन्दा बलियो शक्ति बन्न सक्ने बताए। आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेका कारण राजनीतिक दल र नेतृत्वप्रतिको निराशालाई आशामा परिणत गराएको उनकाे भनाइ छ।

प्रचण्डले भने, ‘सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामहरु अगाडि बढाएको छ।’ जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको भन्दै प्रचण्डले भुटानी शरणार्थी प्रकरण,ललिता निवास प्रकरण,सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानविन र कारवाहीले जनतामा उत्साह थपेको दावी गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement