माओवादीले प्रचण्डका भाइ नारायणलाई बनायाे राष्ट्रियसभा अध्यक्षको उम्मेदवार


काठमाण्डु- नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतवार बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्षको दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नारायण दाहाल प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् । पछिल्लो समय प्रचण्डले पार्टीमा नातेदारलाई मात्र पद दिने गरेको भन्दै आलोचना भइरहेको छ ।

यसभन्दा अघि बसेको माओवादीको बैठकमा नेता जनार्दन शर्माले प्रचण्डले आफ्ना नातेदारलाई मात्र जिम्मेवारी दिएको भन्दै असन्तुष्टी जनाएका थिए । यसैबीच माओवादीले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार झक्कु सुवेदीलाई बनाउने भन्ने चर्चा थियो । तर, आज बसेको पदाधिकारीको बैठकले प्रचण्डका भाइ नारायणलाई उम्मेदवार बनाएको छ ।

यससँगै सत्ता गठबन्धनबाट राष्ट्रियसभा अध्यक्षको उम्मेदवार दाहाल बनेका छन् । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement