काठमाण्डु – नेकपा माओवादी केन्द्रको दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला स्थित पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको उद्घाटन गरी अभियान सुरु गरेको हो ।
उद्घाटन कार्यक्रम अन्तर्गत माओवादी केन्द्रले पाटनमा आयोजना गरेको सभालाई शीर्ष नेताहरूले सम्बोधन गरेका छन् ।
जेठ १० गतेसम्म सञ्चालन हुने यो अभियान पोखरामा आएर समापन हुनेछ ।
यो अभियानको नेतृत्व अध्यक्ष दाहाल स्वयंले गरेका छन् । अभियानमा भाग लिन पार्टीका अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इञ्चार्ज गिरिराजमणि पोखरेललगायत नेताहरू बैतडीमा छन्।
यसअघि हुलाकी राजमार्ग केन्द्रित तराईमूलक अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने जनाएको छ ।
अभियानले विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्नेछ । यसले सङ्गठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको छ ।
प्रतिक्रिया