माओवादी स्थायी कमिटी आज पनि बस्दै, नेताहरूले धारणा राख्ने

माओवादी स्थायी कमिटी आज पनि बस्दै, नेताहरूले धारणा राख्ने


काठमाण्डु-माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा छ ।

यस्तै, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुनेछ ।

बैठकमा नेताहरूले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

जारी स्थायी कमिटीमा बैठकमा धारणा राख्ने क्रममा नेताहरुले पार्टीलाई सुदृढ बनाएर जानुपर्नेमा जोड दिएको छन् । बैठकमा माओवादी केन्द्रले कार्यकारी राष्ट्रपतिको एजेण्डालाई अघि सार्ने विषयमा छलफल गरेको छ ।

प्रवक्ता सापकोटाले राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतिको विकल्प नभएको संस्थागत धारणा भएको हिजो बताएका थिए ।

‘अहिले हामीले संस्थागत रुपमा पनि उठाएका छौं । यहाँ अस्थिरताको कुरा गरिँदैछ । कांग्रेस र एमालेले स्थायित्व नै चाहेको हो भने पाँच वर्षसम्म महाअभियोगको कुरा त हुन्छ, तर राष्ट्रपति फेरिँदैन । त्यसले मात्रै स्थायित्व दिनसक्छ, हिजोको बैठक पछि उनले भने ।

प्रवक्ता सापकोटाले अध्यक्ष प्रचण्डले पनि यही कुरा राखेको भन्दै यही आधिकारिक र पार्टीको संस्थागत निर्णय भएको बताए ।