जनताको गुनासो र सुझाव संकलन गर्न माओवादी घरघरमा पुग्छ : उपाध्यक्ष भुसाल


ललितपुर – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पार्टीले जनताको पक्षमा गरेका कामबारे जनतालाई बुझाउने बताएकी छन् ।

ललितपुर उपमहानगरपालिका–२२ बुङ्मतीमा आयोजित माओवादी केन्द्रको ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ र ‘जनजनमा माओवादी घरघरमा माओवादी’ कार्यक्रम उद्घाटन कार्यक्रममा उनले अब माओवादी जनतामा गएको बताइन् ।

अरु समय भोट माग्न र भोट प्राप्त गरेपछि धन्यवाद दिन आएको र अबको ३ महिने रूपान्तरण अभियानमा जनताको गुनासो र सुझाव संकलन गर्न जनताको घरघरमा माओवादी पुग्ने उनले बताइन् ।

‘भदौ १६ गतेदेखि शुरू भएको अभियान मंसिर १५ गते सकिएपछि जनताबाट प्राप्त भएका सुझाव र आलोचनालाई समीक्षा गरेर विधान सम्मेलन गर्नेछौं । विधान सम्मेलनकोे ३ महिनापछि महाधिवेशनद्वारा नीति र विचारमा नयाँ विकास गरेर पार्टीलाई देशको सबैभन्दा अग्रगामी र सबैभन्दा क्रान्तिकारी शक्ति निर्माण गर्नेछौं,’ उनले भनिन् ।

जनता र माओवादीको सम्बन्ध नङ र मासुको जस्तै हुँदा माओवादी बलियो हुने र माओवादी बलियो हुँदा परिवर्तनको एजेन्डा रक्षा हुने भएकाले जनतासँग माओवादी रूपान्तरण अभियान शुरू गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement