शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्री प्रचण्डले अमेरिकासँग सहयोग माग्ने


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सहयोग मागिने भएको छ ।

आज शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कार्यमा विदेशी निकायको सहयोग माग्ने विषय पहिलो प्राथमिकतामा रहेको बताए ।

माओवादीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको जनाएको छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर घोषणा गर्न बाँकी रहेको प्रवक्ता सापकोटाले बताए ।

शान्ति सम्झौताको १८ वर्ष लागिसक्दा पनि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको उनले बताए । माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र अरु सबै पार्टीसँग सहमति गरेर शान्ति प्रक्रियालाई टुंगो लगाउने प्रयास भइरहेको उनले बताए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘भ्रमणमा प्रधानमन्त्रीले मुख्य कुरा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहयोग माग्ने रहेको छ । शान्ति प्रक्रिया भनेको यो नेपालको मौलिक ४ चोटीसम्म निर्वाचन भइसकेपछि एकप्रकारले भन्यो भने कानूनले निश्चित गर्न मात्रै बाँकी हो कि त्यो शान्ति प्रक्रिया त सफल भइसक्यो । शान्ति प्रक्रिया सुरु भइसकेपछि ४ वटा निर्वाचन भइसके । यो धेरै ठूलो सफलता हो तर फेरि यति ठूलो सफलता हुँदाहुँदै पनि सेना समायोजन भइसक्यो । अरु काम भइसके तर पनि यसलाई निष्कर्षमा पुर्‍याएर एकप्रकारले घोषणा गर्न बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement