काठमाण्डु – नेकपा माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन भोलि बुधबार गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको बैठकले नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र यसको चुनाव चिह्न ५ कुने तारा हुने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
‘नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते हुनेछ । जसमा महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू सबै दलले आपसी सहमति र समझदारीमा कायम गर्नेछन्,’ उनले भने, ‘नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी राखिएको छ । यसको चुनाव चिह्न ५ कुने तारा हुनेछ ।’
सापकोटाले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुका साथै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता रहेको बताए ।
‘लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता हो,’ उनले भने ।
नयाँ पार्टीको एकता राष्ट्रिय महाधिवेशन ६ महिनाभित्र गरिने पनि उनले जानकारी दिए । ‘केन्द्रीय समिति गठन आपसी सहमतिका आधारमा गठन गरिनेछ । केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद हुनेछन्,’ उनले भने, ‘तलैसम्म, टोलैसम्म संयोजक र सहसंयोजकको व्यवस्था गरिएको छ ।’
उनका अनुसार पार्टीको मार्ग निर्देशित सिद्धान्त मार्क्सवाद, लेलिनवाद हुनेछ । उनले नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने बताउँदै भने, ‘पार्टीको तत्कालिन कार्यनीति पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षाका राष्ट्रिय स्वाधिनताको संरक्षण सुशासन, सामाजिक न्याय, आर्थिक सामाजिक रूपान्तरण गर्दै समाजवादको आधार तयार गरिनेछ ।’
नयाँ पार्टीको आन्दोलनको स्वरूप आन्दोलन मूलत: शान्तिपूर्ण हुने भन्दै सापकोटाले परिस्थितिअनुसार संसद्, सडक र सरकार लगायत आवश्यकता अनुसारका सबै मोर्चाहरू आन्दोलनको मोर्चा हुने बताए ।





प्रतिक्रिया