बढ्दै विदेशी पुरुषसँग अनमेल बिहे


काठमाडौं – नागार्जुनकी ३६ वर्षीया महिलाले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन्।दुवै जनाले मंसिर ८ मा काठमाडौं जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए।सबै कानुनी प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो।

न्युयोर्क बस्ने ६५ वर्षका पुरुषसँग खोटाङकी ३३ वर्षीय युवतीले विवाह गरिन्।दुवैजनाले काठमाडौं जिल्ला अदालतमा निवेदन दिई दर्ता विवाहको प्रमाणपत्र लिए।उनीहरु कात्तिक २९ गते दर्ता विवाहका लागि कानुन व्यवसायीसहित अदालत पुगेका थिए।

४८ वर्षीय भारतीय पुरुषले २४ वर्षकी नेपाली युवतीसँग विवाह गरे।युवतीको भन्दा दोब्बर उमेर भएकाले उनले अदालती विवाह गरेका हुन्।यो अदालतली विवाह जेठ ८ मा भएको हो।

विदेशीसँग भएका यी अनमेल विवाहका उदाहरण प्रतिनिधिमूलक हुन्।पछिल्लो समय काठमाडौं जिल्ला अदालतमा पुगेर यसरी विवाह गर्नेको संख्या बढेको छ।उमेर हेर्दा आफूभन्दा १० देखि ३२ वर्ष जेठा विदेशी पुरुषसँग नेपाली युवतीले विवाह गरेका छन्।यसरी दर्ता विवाह गर्नेमा अधिकांश पुरुष विदेशी र युवती नेपाली छन्।

काठमाडौं जिल्ला अदालतको तथ्यांक हेर्दा सबैभन्दा धेरै नेपाली युवतीले अमेरिकी पुरुषसँग विवाह गरेका छन्।अस्ट्रेलिया, बेलायत, चीन, दक्षिण कोरिया, जापान, क्यानडा, फिलिपिन्स, फ्रान्स, बंगलादेश, मलेसिया, पाकिस्तान लगायत देशका पुरुषसँग पनि नेपाली युवतीले अदालती विवाह गरेका छन्। भदौ १ देखि लागू भएको देवानी संहितामा जिल्ला अदालतमा ‘दर्ता विवाह’ गर्नसक्ने व्यवस्था छ।‘विवाह दर्ता’ का लागि भने सम्बन्धित गाउँपालिका, नगरपालिकामा निवेदन दिनुपर्ने प्रावधान छ। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement