१८ वर्षमै बिहे गर्न पाइनेगरी कानुन संशोधन गर्दै सरकार


काठमाण्डु – सरकारले विवाहको उमेरहद घटाउने तयारी गरेको छ । हाल २० वर्ष नपुगी बिहे गर्न नपाउने कानुनी व्यवस्था रहेकामा त्यसलाई  २ वर्ष घटाएर १८ वर्ष बनाउनेगरी कानुन संशोधनको काम भइरहेको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए ।

कांग्रेस सचेतक पुष्पा भुसालले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्षमा झार्नेबारे के काम भइरहेको छ भनेर प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रश्न गरेपछि कानुनमन्त्रीले महिला र पुरुष दुवैको विवाहको उमेर घटाउने तयारी भइरहेको बताए ।

विवाहको उमेर २० वर्ष राख्दा अपराध बढेको बताउँदै उनले बाल विवाहमा सजाय भइरहेकाले कानुन संशोधन गरेरै बिहेको उमेर घटाउन प्रक्रिया अघि बढेको जानकारी दिए ।

‘विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइरहेको छ । बालविवाहमा सजाय भइरहेको छ। मन्त्रालयले कानुन संशोधन प्रक्रिया थालिसकेको छ, यो चाँडै नै पुरा हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement