‘म्याच फिक्सिङ’ गरे ५ वर्षसम्म जेल, ५० हजार जरिबाना


काठमाडौं- देशमा नयाँ मुलुकी ऐन लागू भएसँगै अब खेलकुद क्षेत्रमा पनि कडा ऐन आएको छ । राज्यको प्रतिनिधिका रूपमा सम्मिलित कुनै पनि खेलमा मिलेमतो ९फिक्सिङ० गरे अब खेलाडीलाई राज्यविरुद्ध कसुरमा रूपमा सजाय हुने ऐनले व्यवस्था गरेको छ । खेल मिलेमतोलाई नयाँ कानुनले पहिलोपटक राज्यविरुद्धको अपराधका रूपमा स्वीकारेको छ ।

मुलुकी अपराधसंहिता ऐनको भाग २ मा रहेको फौजदारी कसुरहरूअन्तर्गत परिच्छेद १ मा राज्यविरुद्धका कसुरको व्यवस्था गरिएको छ । उक्त परिच्छेदको दफा ५१ ले राष्ट्रहित प्रतिकूल हुने काम गर्न नहुने उल्लेख गरेको छ ।

यसअनुसार अब आफ्नो देशको प्रतिनिधित्व गरी देश वा विदेशमा कुनै खेलाडीले मिलेमतो गरे, बाजी जिताउने वा हराउने वा सट्टाबाजी गरे कडा सजाय हुनेछ । यदि त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हितविरुद्धको कसुर मानिने नयाँ कानुनमा उल्लेख छ ।

कुनै खेलमा खेलाडीले मिलेमतो गरेको प्रमाणित भए नयाँ कनुनले अब संलग्नलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिमाना तिराउने व्यवस्था छ ।खेल मिलेमतो गर्दा रकम लेनदेन गरेको भएमा सजायका अतिरिक्त लेनदेन गरेको रकम समेतजफत गर्ने कानुन लागू भएको छ । त्यत्ति मात्रै हैन, मिलेमतो गर्न उक्साउने वा योजनाकारलाई पनि मुख्य दोषी मानेर सजाय लाग्नेछ ।

 खेल मिलेमतोमा सहभागी व्यक्ति कुनै सार्वजनिक पद धारण गरेको छ वा नेपाललाई प्रतिनिधित्व गर्ने व्यक्तिले विदेशमा गएका बखत गरेको अवस्थामा थप ३ वर्षसम्म जेल सजाय हुनेछ ।यसअघि खेल मिलेमतोमा देशमा स्पष्ट कानुन थिएन । अब नयाँ कानुन लागू भएसँगै खेल क्षेत्रमा पनि सुधार आउने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement