काठमाण्डु – हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भूभागमा भने मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।
मंगलबार दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा
मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन देशभर विस्तार हुन अझै हप्तारदश दिन लाग्न सक्ने देखिएको छ ।
बुधबारदेखि पानी पार्ने प्रणाली केही सक्रिय हुने र गर्मीबाट राहत पुग्न सक्ने मौसमविदको अनुमान छ ।
यसैबीच गर्मी बढेसँगै जनजिवन प्रभावित बन्न थालेको छ । गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या हुन सक्ने डाक्टरले बताएका छन् । सकेसम्म दिउँसोको चर्को घाममा घरबाट ननिस्कन र निस्कनै परेमा छाता ओढ्न, शितल छहारीमा बस्न, पानी तथा सर्वत पिउन डाक्टरको सल्लाह छ ।
प्रतिक्रिया