केही स्थानमा मध्यम वर्षा तथा हिमपात, तराईमा तातो हावा चल्ने

केही स्थानमा मध्यम वर्षा तथा हिमपात, तराईमा तातो हावा चल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

मधेश प्रदेशलगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल तथा बाँकी तराई भू–भागमा मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

गर्मी बढ्दै

वर्षा कम भएपछि देशैभर गर्मी बढेको छ । अरु ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ । त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ । सोमबार र मंगलबार पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईमा केही दिनदेखि बढिरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ । दिउँसोको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगन्ज, धनगढी, दिपायललगायतका क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन् ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसको नजिक छ । तापक्रम बढेसँगै तातो हावा चलिरहेको छ । तापक्रम बढेपछि अस्पतालहरुमा बिरामीको चाप बढेको छ ।