काठमाण्डु – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ।
दार्चुला, बझाङ र हुम्ला जिल्लाका एकदुई स्थानमा अहिले हल्का वर्षा तथा हिमपात भइरहेको छ।
मौसम विज्ञान विभागका अनुसार सोमबार देशभर आंशिक बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। यसैगरी, लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।
महाशाखाका अनुसार राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा भने बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
महाशाखाले चक्रवात मुरासुबारे पनि जानकारी दिँदै उक्त मौसम प्रणालीको कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नदेखिएको जनाएको छ ।
मौसम मोडल तथा भूउपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्क विश्लेषणको आधारमा आइतबार बिहान ११ ः ४५ बजे दक्षिणपश्चिम बङ्गालको खाडी तथा आसपासको मध्यपश्चिम बङ्गालको खाडीमा चक्रवाती आँधी मुरासु बनेको हो ।
सोमबार मध्यपश्चिम बङ्गालको खाडीमा यो प्रणाली शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ । यो प्रणाली निरन्तर पश्चिम-उत्तरपश्चिमातर्फ अघि बढ्दै कार्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा पर्ने नेल्लौर र नरसापुरबिचबाट शक्तिशाली चक्रवाती आँधीका रूपमा जमिनमा प्रवेश गर्ने सम्भावना छ ।


प्रतिक्रिया