अति भारी वर्षाको चेतावनीपछि सरकारद्वारा २३ जिल्लामा राति गाडी चलाउन रोक

अति भारी वर्षाको चेतावनीपछि सरकारद्वारा २३ जिल्लामा राति गाडी चलाउन रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारी र अति भारी वर्षासँगै पहिरो, बाढी र सडक अवरोधको सम्भावना बढेपछि सरकारले जोखिमयुक्त क्षेत्रमा रातिको यात्रा रोक्न थालेको छ ।
अति भारी वर्षाको पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २३ जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन नगर्न चेतावनीसहित आग्रह गरेको हो ।

मौसमको अवस्था प्रतिकूल बन्दै गएपछि पहाडी तथा तराईका विभिन्न क्षेत्रमा मानवीय क्षति र भौतिक जोखिम बढ्न सक्ने अनुमान गरिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि रातिको आवागमन नियन्त्रण गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अवस्था थप गम्भीर बनेमा तोकिएका क्षेत्र मात्र नभई आवश्यकताअनुसार जुनसुकै स्थानमा पनि सवारी आवागमन पूर्ण रूपमा रोक्न सकिने बताएको छ ।

राति यात्रा रोकिएका जिल्लामा कोशी प्रदेशका पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ र धनकुटा,
बागमती प्रदेशका सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन र धादिङ, गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा छन् ।

जल तथा मौसम विज्ञान विभागले शनिबार र आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । अन्य केही क्षेत्रमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्ने, पहिरो खस्ने, सडक अवरुद्ध हुने र बस्ती डुबानमा पर्न सक्ने जोखिम रहेकाले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।

विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय र स्थानीय तहलाई तयारी अवस्थामा राखिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्वयंसेवकलाई सम्भावित उद्धार र राहतका लागि परिचालन हुन सक्ने गरी तयारी गर्न भनिएको छ ।

जोखिमयुक्त सडकमा अवरोध भए तत्काल हटाउन डोजर, एक्साभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

त्यस्तै, पहिरोको उच्च जोखिम भएका बस्ती तथा नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यकता परे सुरक्षित स्थानमा जान तयार रहन आग्रह गरिएको छ।

वर्षा तथा बाढीसम्बन्धी सूचनाका लागि ११५५, विपद् सहायता नम्बर १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी १११४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।