विद्यालयले तोकिएको ठाउँमा पोशाक र किताब किन्न बाध्य पार्नु दण्डनीय : मेयर बालेन


काठमाण्डु – काठमाण्डु महानगरपालिकाले विद्यालयबाट नै पोशाक र पाठ्यपुस्तक किन्न बाध्य पार्नेलाई कारवाही गरिने बताएकाे छ।

महानगरले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार काम गर्न नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र गरिसकेको छ।

विद्यालय आफैले पाठ्यपुस्तक, स्टेशनरी विक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमूना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न बाध्य नगराउने व्यवस्था विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ ले गरेको महानगरले स्मरण गराएको छ।

मेयर शाहले आज फेसबुकमा लेख्दै भनेका छन्, ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक-पटक आइरहेको छ। यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ।’

उनले सबै विद्यालयहरूलाई निर्देशिका अनुसार काम गर्नसमेत अनुरोध गरेका छन्।’सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन हुन अनुरोध छ,’ उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement