स्थानीय निर्वाचन : काठमाण्डुको मेयरमा कुन पार्टीबाट को-को छन् आकांक्षी ?


काठमाण्डु – स्थानीय तहको निर्वाचन नजिकिएसँगै मुलुकका प्रमुख राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका छन् । विभिन्न राजनीतिक दलका नेताहरु वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम बोकेर गाँउ गाँउ पस्न थालेका छन् । चुनावको सरगर्मी बढ्न थालेसँगै दलहरुमा उमेदवार को–को हुने भन्ने चर्चा पनि सुरू हुन थालेको छ ।

विभिन्न नेता तथा स्वतन्त्र व्यक्तिहरुले आकांक्षा र दाबेदारी पनि प्रस्तुत गरिरहेका छन् । निकै नै चासोको साथ हेरिने काठमाण्डु महानगरकाे बागडाेर हाँक्नका लागि पनि विभिन्न दलका नेता तथा स्वतन्त्र व्यक्तिहरुले आकांक्षा देखाउन थालेका छन् । काठमाण्डु महानगरको मेयर बन्नका लागि पूर्वमन्त्री समेतले तयारी थालेका छन् । काठमाण्डु मेयरका लागि नेकपा एमालेका तर्फबाट तीन जनाले आकांक्षा देखाएका छन् ।

जसमा बाहालवाला मेयर विद्यासुन्दर शाक्य, पूर्वराज्यमन्त्री रामवीर मानन्धर र पूर्वमेयर केशव स्थापितको नाम चर्चामा छ । एमालेले अब पार्टी कमिटीका बैठकहरु राखेर उमेदवारहरुका विषयमा छलफल गर्ने भएको छ । यही चैत ७ गते पोलिट्ब्यूरो बैठक बस्ने र त्यसपछिका केन्द्रीय कमिटी बैठकमा चुनावको तयारी र उमेदवारका विषयमा छलफल गर्ने तयारी रहेको स्रोतले जानकारी दियो ।

त्यस्तै नेपाली कांग्रेसबाट आकांक्षीको संख्या बढ्दो छ । महानगरको बागडोर सम्हाल्न पूर्वमेयर तिर्थमान डंगोल, वर्तमान ‘उपप्रमुख’ हरिप्रभा खड्गी, निलकाजी शाक्य, प्रगतिमान रञ्जित, राजुराज जोशी, मुकुन्द रिजाल उमेदवारको दौडमा छन् ।

यता नेकपा माओवादी केन्द्रमा भने नेताहरु मेयरका रुपमा खुलिसकेका छैनन् । गठबन्धनबाट नै निर्वाचनमा जानुपर्ने अवस्था रहेकाे भन्दै उमेदवार को बन्ने भन्ने तहमा छलफल नै नपुगेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए ।

त्यस्तै गठबन्धनमा आवद्ध रहेको दल नेकपा एकीकृत समाजवादीमा आकांक्षीको चर्चा सुरु हुन थालेको छ । स्रोतका अनुसार काठमाण्डु महानगरपालिका–१५ का अध्यक्ष ईश्वरमान डंगोल र संसदीय दलका नेता जीवनराम श्रेष्ठले आकांक्षा व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट पनि मेयर लड्नेको आकांक्षीहरू धेरै छन् । राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राप्रपाबाट पूर्वएसएसपी समेत रहेका पार्टी नेता दिपक रञ्जित, काठमाण्डु महानगर कमिटी अध्यक्ष केदार धमला, महामन्त्री भुवन पाठकको नाम चर्चामा छ ।

यता विवेकशील साझाले पनि काठमाण्डुको बागडोर हाँक्ने मेयरको टुंगो लगाउन आवश्यक गृहकार्य गरिरहेको छ । विवेकशीलका अध्यक्षसमेत रहेका नेता रवीन्द्र मिश्रलाई अघि बढ्न सो पार्टीका केही नेताले सुझाव दिएका छन् ।

त्यस्तै स्वतन्त्र उमेदवारमा र्‍यापरसमेत रहेका युवा बालेन शाहले काठमाण्डुको मेयरमा उठ्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement